सिड्नी । बीबीसीको चर्चित रियालिटी सो मास्टरसेफ यूकेमा फस्ट रनरअप उपाधि हासिल गरेका सन्तोष शाह अस्ट्रेलिया आउने भएका छन् ।
अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजको आयोजनामा अस्ट्रेलियाका विभिन्न ठाउँमा नेपाली खानाका परिकारहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा सहभागी हुन शाह अस्ट्रेलिया आउन लागेका हुन् । सोमबार सिड्नीको ग्रानभीलमा कलेजले पत्रकार सम्मेलनको आयोजना गरि मास्टरसेफ शाह अस्ट्रेलिया आउन लागेको जानकारी दिएको हो ।
कलेजका निर्देशक गणेश केसीले मास्टर सेफ सन्तोष शाहको साथमा नेपाली खाना र संस्कृतिलाई मनाउनका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
जसमध्ये पहिलो पप अप किचन कार्यक्रम आगामी मे २ तारिख देखि ६ तारिखसम्म नमस्ते रेष्टुरेण्ट टाउन हलमा आयोजना गरिएको उनको भनाई छ । जुन कार्यक्रममा मास्टर सेफ शाहले आफ्नो पाक कला प्रदर्शन गर्ने र प्रामाणिक नेपाली परिकारहरू तयार गर्ने बताईएको छ । यस कार्यक्रमले खाना प्रेमीहरूलाई नेपाली खानाको अनुपम स्वादको स्वाद लिन र सिक्ने अवसर प्रदान गर्ने केसीले जानकारी दिए ।
त्यस्तै दोश्रो कार्यक्रमको रुपमा मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरिएको छ । जहाँ शाहले अष्ट्रेलियामा रहेका प्रशंसकहरू, खाना उत्साहीहरू र नेपाली समुदायका सदस्यहरूसँग अन्तरक्रिया गर्नेछन् । यस कार्यक्रमले उपस्थितहरूलाई प्रश्न सोध्ने, फोटो खिच्ने र मास्टर सन्तोष शाहको पाक यात्राको बारेमा थप जान्नको लागि अवसर प्रदान गर्नेछ ।
त्यस्तै अन्तिम कार्यक्रमको रुपमा शाह मे १३ तारिख नेपाल फूड फेस्टिभलमा सहभागी हुनेछन् । जसमा विभिन्न नेपाली परिकार, संगीत र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत रहने पत्रकार सम्मेलनको क्रममा जानकारी गराईएको थियो । उक्त कार्यक्रमले सहभागीहरूलाई नेपालको समृद्ध र विविध संस्कृति, यसको खाना र कलाको माध्यमबाट अनुभव गर्ने मौका प्रदान गर्ने बताईएको छ ।
सबै कार्यक्रमहरू नेपाली भाषामा आयोजना हुने भएकाले नेपाली समुदायका नेपाली भाषी सदस्यहरूलाई मास्टर सन्तोष शाहसँग जोडिने र सिक्ने अनुपम अवसर प्रदान गर्ने निर्देशक केसीले बताए । कार्यक्रममा उपस्थित हुन समेत उनले सबैसगं आग्रह गरेका छन् ।
सन्तोष शाह ’बीबीसी मास्टरसेफ’ का विजेता हुन् । ३४ वर्षीय शाहले ’बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१’ उपाधि हात पारेका थिए ।
नेपाली खानालाई विश्वभर चिनाउने ‘वर्ल्ड रोडम्याप’ बनाएर विश्व दौडाहमा रहेका शाहले नेपालका पाँचवटा मौलिक परिकारलाई विश्वब्यापी बनाउने योजना बनाएका छन् । यसबारे उनले पुस्तक समेत लेखिरहेका छन् । सिराहमा जन्मिएका सन्तोष लामो समयदेखि बेलायतमा बस्दै आएका छन् ।






