तमु ल्होछार २०२३ को धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

सिड्नी । तमु समाज सिड्नीले तमु ल्होछार पर्वको अवसरमा आयोजना गरेको कार्यक्रम सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाताहरुलाई धन्यवाद एवम् सम्मान व्यक्त गरेको छ ।

समाजले २५ फेब्रुअरीमा एक कार्यक्रमको आयोजना गरी तमु ल्होछारको अवसरमा यही जनवरी ७ तारिखमा सम्पन्न गर्नका लागि आफ्नो समय, सीप र अर्थ सहयोग गरी कार्यक्रमलाई भव्य बनाउन सहयोग पुर्याएको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो ।

पारिवारिक ढगंले सम्पन्न कार्यक्रममा ल्होसार पर्वलाई सम्पन्न गर्न सहयोग गर्ने स्वयंसेवक, कलाकार, प्रायोजकहरु, पत्रकार तथा अन्य सहयोगीदाताहरु लाई धन्यवाद तथा मायाको चिनो सहित सम्मान गरिएको हो ।

तमु समाजका  पूर्व अध्यक्षहरुले उनीहरुलाई सम्मान व्यक्त गरेका थिए । तमु समाज सिड्नीका पूर्व अध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले ऐतिहासिक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा तमु समाजका अध्यक्ष युवराज गुरुङ ,उपाध्यक्षद्धय हिउपति गुरुङ र सानु गुरुङ लगायत समाजका सदस्यहरु साथै स्वयंसेवक, कलाकार, प्रायोजकहरुको उपस्थिती रहेको थियो ।

सम्मान पश्चात कलाकार र स्वयम् सेवकहरुले आगामी दिनमा अझै यस्तै थुप्रै काम गर्न प्रोत्साहन मिलेको बताएका थिए । १० वर्ष मुनीका बालबालिकाहरुलाई पनि संस्कृति प्रति प्रोत्साहन गर्ने हेतुले ल्होछारको अवसरमा राखिएको बाल कार्यक्रममा सहभागीहरुलाई समेत सम्मान गरिएको तमु समाजका महासचिव अर्जुन गुरुङले जानकारी दिए ।