सिड्नी । पासपोर्ट सहित वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका विभिन्न समस्या समाधानका लागि प्रवासी नेपाली मञ्च (ओएनएफ) अस्ट्रेलियाले परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
क्यानवेरा स्थित नेपाली दुतावास मार्फत परराष्ट्रमन्त्री बिमला पौडेल राईलाई ज्ञापनपत्र पठाईएको हो । मञ्चका अध्यक्ष केशव जोशीको नेतृत्वमा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेललाई बुझाईएको ज्ञापनपत्रमा पासपोर्ट आवेदनकालागि आवश्यक पर्ने बायोमेट्रिक पर्याप्त नभएको र सर्वसाधारणले दुताबासमा फोन गर्दा सहज रुपमा सम्पर्क नभएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भौगोलिक हिसाब टाढा रहेका अस्ट्रेलियाका विभिन्न सहरहरुबाट पासपोर्ट प्राप्त गर्ने प्रकिया असहज भएको तथा राजदुताबासबाट प्रदान गरिने कन्सुलर सेवामा सहज पहुँच नभएको उल्लेख गरिएको छ । त्यस्तै विभिन्न आठ वटै राज्यहरुका वाणिज्यदुतावासहरुमा पनि आर्थिक कारोवार अनलाइन/मिसिन प्रणालीबाट लिने व्यवस्था नभएको र वाणिज्यदुतहरुलाई सर्वसाधारणले सम्पर्क गर्ने स्थान र समय निश्चित नभएको समस्यालाई प्रस्तुत गरिएको मञ्चका सचिव प्रकाश पन्थीले बताए ।
सचिव पन्थीका अनुसार राजदुत पोखरेलले दुतावास समस्याहरुका वारेमा जानकार रहेको र समाधानका लागि पहल भैरहेको बताउदै अष्ट्रेलियामा रहेका सामाजिक संघ संस्थाहरुलाई आफ्नो ठाउबाट समाधान गर्न अनुरोध गरेका थिए । कार्यक्रममा राजदुत पोखरेल सहित नियोगका उप प्रमुख कल मगर, तृतिय सचिव यादव कोईराला समेत रहेका थिए ।
राजदुत पोखरेलले २० वर्षदेखि कर्मचारी समायोजन नहुदा सीमित श्रोत साधनबाट सेवा सुविधा दिनुपर्ने बाध्यता रहेको भन्दै बढ्दो अस्ट्रेलियामा नेपाली जनसंख्या र विद्यार्थीहरुको चाप अनुसार सेवा पुर्याउन नसकेको भन्दै आफुहरुले पनि त्यसका लागि पहल गरिरहेको भन्दै ओएनएफको उपस्थितिलाई सहज रुपमा लिएको बताए ।
प्रतिनिधी मण्डलमा मञ्चका अध्यक्ष जोशी र सचिव पन्थी सहित अन्तराष्ट्रिय कमिटी सदस्य शिशिर नेपाल, अष्ट्रेलियाका उपाध्यक्ष राम घिमिरे, आर्थिक विभाग प्रमुख दिपक पहारी, क्यापिटल टेरोटेरी इन्चार्ज किशोर भण्डारी, सदस्यहरु सुर्यमोहन शर्मा, प्रकाश सुवेदी, सुभाष सुवेदी तथा मञ्चका क्यापिटल टेरोटेरिका सचिव बाबुराम शर्मा रहेका थिए ।







