डडेल्धुरा । डडेल्धुरामा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन् । आलिताल गाउँपालिका-७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
मेलगाझा घर नजिकैको जंगलमा युवती रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।
‘रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ, घटना प्रकृति हेर्दा आत्महत्या जस्तो देखिन्छ,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले थप खुलाउला।’ अहिले ती युवतीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ । पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उनी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन् । साउद मृत भेटिएपछि बुधबारदेखि हुने भनिएको चौथो गाउँपालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता एक दिनलाई सरेको छ ।
घरनजिकै झुन्डिएको अवस्थामा भेटिएकी साउद ७ नम्बर वडाको महिला टिमकी सदस्य थिइन् । यो प्रतियोगिता माघ १६ गतेदेखि गर्ने तयारी थियो । तर स्थगित गरेर आजलाई सारिएको थियो । खेलाडी मृत भेटिएपछि प्रतियोगिता एक दिन पर सरेको हो ।






