सिड्नी । तामाङ सोसाईटी अफ् सिड्नीले सोनाम ल्होछारको अवसरमा आयोजना गरेको कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको समाजले यसवर्ष पनि २८ जनवरी शनिवारका दिन म्यारिकिभिलको टाउनहल सेन्टरमा सम्पन्न गरेको हो ।
बेलुका ५ बजेदेखि पुजाआजा सहित सुरु भएको कार्यक्रममा एमपी जिहार्ड डिबको प्रमुख आतिथ्यता रहेको थियो । समाजका अध्यक्ष सुनदोर्जे तामा को अध्यक्षतामा बेलुकी ५ बजेदेखि ६ बजेसम्म औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । गणेश तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै तामाङ सोसाईटी विस्तारै आफ्नो कार्यक्षेत्र विस्तार गर्दै स्थापित र ठुलो संस्थाको रुपमा परिचित हुँदै गएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमपी जिहार्ड डिबले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायसगैं नेपाली संस्कृतिको समेत जगेर्ना गर्न यस्ता कार्यक्रमले भूमिका खेल्ने बताए । उनले अस्ट्रेलियाको नीति पनि सबैको संस्कृतिलाई सम्मान गर्ने रहेको भन्दै यस संस्थाले सहयोग गरेर अगाडी बढ्न प्रतिबद्ध रहेको बताए ।
महावाणिज्यदूत दिपक खड्काले सांस्कृतिक र धार्मिक विविधताले भरिपूर्ण नेपालीहरुले आफ्नो मौलिकता प्रवद्र्धन गर्दै आ आफ्ना विविधतालाई झल्काउने काम गरेको बताए । नेपाली समाजले आआफ्नो भाषा संस्कृतिलाई अस्ट्रेलियामा चिनाएर बहुसांस्कृतिक पहिचान दिलाएको भन्दै यसले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।
एनआरएनए अध्यक्ष नन्द गुरुङले सामाजिक सघंसंस्थाहरुले अत्यन्तै महत्वपूर्ण भुमिका खेलेका भन्दै एनआरएनएले आवश्यक सहयोग गरेर अगाडी बढ्न मद्धत गर्ने र त्यसका लागि सबै तत्पर रहने बताए ।
कार्यक्रममा अध्यक्ष सुनदोर्जे तामाङले सबैको साथ सहयोगले कार्यक्रम भव्य बनेको भन्दै प्रत्येक वर्ष झनझन सभ्य बन्दै गएको बताए । उनले सिड्नीमा तामाङ संस्कृति र अन्य विविधता जोगाई राख्न भुमिका खेल्दै आएको भन्दै विभिन्न सघंसंस्था सगं सहकार्य गर्दै आईरहेको बताए ।
कार्यक्रममा निम्फाका अध्यक्ष सुदर्शन थापा मगर,तामाङ सोसाईटी अफ् सिड्नी उपाध्यक्ष अबिरल तामाङ लगायतले कार्यक्रमको बारेमा प्रस्ट पार्दै मन्तव्य राखेका थिए।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, काउन्सिलर भद्र वाईवा, सल्लाहकार निमा बोम्जन , मगर समाज अस्ट्रेलियाका अनिल थापा मगर लगायत विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि र समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । सिड्नी वरिपरि रहेका तामाङ तथा गैर तामाङ, समाजका विभिन्न प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । 
तामाङ संस्कृतिका विभिन्न प्रस्तुती सँगै स्थानिय कलाकार गायक दिल तामाङ तथा नेपालबाट आएका कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए भने कार्यक्रमको विशेष महत्वको रुपमा लामो समयदेखि गीतसगींत तथा सञ्चार क्षेत्रमा कार्यरत अनु लामा र युवा व्यवसायी जेरी सोल्टीको ल्होछार गीतमा नृत्यले सोनाम ल्होछारलाई थप रौनक थप्दै ल्होछारलाई झल्काएको थियो । उनीहरुको युगल प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।







