हिमानी कोष अस्ट्रेलियाको अध्यक्षमा पुन : अञ्जना बस्नेत कार्की चयन

सिड्नी । हिमानी कोष अस्ट्रेलियाको अध्यक्षमा पुन : अञ्जना बस्नेत कार्की निर्वाचित भएकी छिन् । डिसेम्बर ८ मा सिड्नी स्थित कार्यालयमा  जुम र प्रत्यक्ष रुपमा सम्पन्न भएको अधिवेशनले कोषको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको महासचिवमा रेश्मा थापा, ट्रेजररमा पारु पाण्डे तिवारी, प्रवक्तामा किरण भण्डारी र सुचना अधिकारीमा रोशन कोईराला चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा सितास्मा राज्य लक्ष्मी देवि शाह, दिनेश पोखरेल, दिपक विष्ट, डिलाराम खरेल, शैलेश राज भण्डारी र राघभ महत लगायत रहेका छन् ।

भने कार्यकारी सदस्यहरुमा सञ्जिव सिहं कुँवर, नरेन्द्र थापा, कल्याण पन्त र प्रज्वल बस्नेत लगायत अन्य २३ जना साधारण सदस्य रहेका छन् ।

साधारण सभामा अध्यक्ष कार्कीले हिमानी ट्रष्ट नेपालकी अध्यक्ष पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले पठाउनुभएको सन्देश सुनाएकी थिईन् । सन्देशमा पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोष अस्ट्रेलिया आफ्नै परिवार जस्तो बनेको भन्दै सबैले साथ सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभएको बताईन् । केही समय अगाडी आफु अस्ट्रेलियामा आउँदा सबैसगं भेटघाट र अन्तरक्रिया गर्न नपाएको भन्दै भावी कार्यक्रममा सबैसगं नजिकबाट अन्तरक्रिया गर्ने बताउनुभएको भन्दै कार्कीले सन्देश सुनाएकी थिईन् ।

त्यस्तै पूर्व राजकुमारी एवम् कोषका सल्लाहकार शीतश्मा राज्यलक्ष्मी देवी शाहले पनि पठाउनुभएको सन्देश प्रस्तुत गर्दै अध्यक्ष कार्कीले अस्ट्रेलियाबासीहरुले आफुहरुलाई भव्य रुपमा स्वागत गरेको भन्दै निकै खुसी व्यक्त गर्नुभएको बताईन् ।

हिमानी ट्रष्ट अस्ट्रेलियामा पुन : निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूजसगंको कुराकानीमा अध्यक्ष कार्कीले आगामी वर्षमा हिमानी ट्रष्टले पूर्व युवराज्ञी हिमानी शाहलाई पुन अस्ट्रेलिया भ्रमण गराउने र कोषको ‘एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट’ लाई सहयोग हुने कार्यक्रमहरु सशक्त रुपमा ल्याउने बताईन् ।

उनले नेपाल र नेपालीका लागि सहयोग गर्ने उदेश्यले संस्थाको जन्म भएको भन्दै अत्यन्तै आवश्यक ठाउँमा सहयोग पुर्याउन सकेकोमा आफु खुसी हुने र आफ्नो कार्यकालमा अझै चुस्त दुरुस्त रुपमा कार्यक्रम गर्ने बताईन् । अधिवेशनमा झण्डै ४० जनाको सहभागीता रहेको थियो ।