दुर्घटनामा २१ तीर्थयात्रीको मृत्यु

नयाँ दिल्ली, ३० जेठ । भारतको दक्षिणी भागमा शनिबार तीर्थयात्री बोकेको एक भ्यान एक पुलबाट नदीमा खस्दा छ बालबालिकाका साथमा २१ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । आन्ध्र प्रदेशको ख्यातिप्राप्त त्रिपुरा तिरुमाला मन्दिरको तीर्थयात्रा सम्पन्न गरी फर्किरहेको उक्त भ्यान पुलमा नियन्त्रण गुमाइ दुर्घटनामा परेको र यस दुर्घटनामा १२ वर्षीय एक बालक भने बाँच्न सफल भएको बताइएको छ । प्रेस ट्रस्ट अफ इन्डियाले चालकले भ्यानको नियन्त्रण गुमाउँदा त्यसले पुलको पर्खालमा ठक्कर दिइ गोदावरी नदीमा खसेको जानकारी दिएको छ ।
प्रेस ट्रस्ट अफ इन्डियाको समाचारमा दुर्घटनाका समयमा नदीको पानीको बेग निकै मन्द रहेको उल्लेख गरेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नाइडुले ट्विटरमा उक्त घटनाप्रति दुःख व्यक्त गरी अधिकारीहरूले सकेसम्म सहयोग गरिरहेको बताउनुभएको छ । उहाँले दावलेश्वरम पुलबाट उक्त भ्यान नदीमा खसेको र २१ व्यक्तिको मृत्यु भएको उल्लेख गर्नुभएको छ । उहाँले यस दुर्घटना बचेका ती बालकको उपचार भइरहेको उल्लेख गर्नुभएको छ ।
भारतमा सडक दुर्घटनामा प्रति वर्ष दुई लाख व्यक्तको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । यातायातसम्बन्धी विश्लेषकहरूले ठूलो सङ्ख्याका दुर्घटनाका प्रमुख कारण खराब बाटो, राम्रोसँग मर्मत नगरिएको गाडी तथा लापरवाहीपूर्वक सवारी सञ्चालन भएको बताएका छन् ।