गुल्मेली समाज बहराइनको सहयोग

गुल्मी, २९ जेठ । बहराइनमा काम गर्ने गुल्मेलीहरुको साझा संस्था ‘गुल्मी समाज समिति बहराइन’ गुल्मेली भूकम्पपीडित तथा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गर्न रेडक्रस गुल्मीलाई रु एक लाख ६३ हजार सहयोग प्रदान गरेको छ । जिल्लाका विभिन्न स्थानबाट वैदेशिक रोजगारीका क्रममा बहराइन पुगेका गुल्मेलीले नेपाल रेडक्रस सोसाइटी गुल्मीलाई सहयोग गरेका हुन् । गुल्मी समाज समितिका प्रतिनिधि घनश्याम खराल, मनिराम पाण्डेय र निर्मल उपाध्यायले संयुक्त रुपमा नगद हस्तान्तरण गर्नुभएको हो ।

गुल्मी जिल्ला समाज युकेद्वारा पाँच लाख प्रदान
गुल्मी जिल्ला समाज युकेले जिल्लाका भूकम्पपीडितका लागि अहिलेसम्म नगद रु पाँच लाख उपलब्ध गराएको छ ।
नेपाल रेडक्रस सोसाइटी गुल्मीले आयोजना गरेको एक कार्यक्रममा समाज सल्लाहकार मोति भण्डारीले रु तीन लाख प्रदान गर्नुभएको हो । जम्मा रु पाँच लाखमध्ये समाजले रु दुई लाख यसअघि नै प्रदान गरिसकेको थियो भने बाँकी रु तीन लाख प्रदान गरेको छ ।
आशा अपाङ्ग केन्द्रलाई रु एक लाख, नेपाल रेडक्रस सोसाइटी शान्तिपुर उपशाखाको एम्बुलेन्स मर्मतका लागि रु एक लाख र रु तीन लाख जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । त्यस्तै समाजले बलात्कृत खड्कोटक गाविसकी १० वर्षीया बालिकालाई पनि सहयोग गरेको छ । ती बालिकाकी आमा चमेली विकलाई सल्लाहकार भण्डारीले रु ७२ हजारको चेक हस्तान्तरण गर्नुभयो ।