लण्डन । बेलायतमा आयोजना भएको एक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको भुमिका निर्वाह गर्ने रविन्द्र मल्लाई लण्डनमा सम्मान गरिएको छ ।
तेक्वान्दोका छैटौं डान तथा अन्तर्राष्ट्रिय रेफ्री मल्ललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले एक कार्यक्रम गरी सम्मान गरेको हो । 
विहिबार सांझ लण्डनको साउथ ह्यारोस्थित माया पबमा मल्लाके सम्मानमा कार्यक्रम गरिएको थियो । त्यसअवसरमा कार्यक्रमको आयोजक संघका तर्फबाट अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, सुरज कार्की र रविन्द्र कार्कीका साथै एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, यति एशोसिएसनका पूर्व अध्यक्ष उमेश मोक्तान, नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नविनपोखरेल लगायतले खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै वक्ताहरुले संसारमा देशको प्रतिनिधित्व गर्दै खेल्ने खेलाडी र अफिसियलहरुको सम्मानमा कुनै कमी गर्न नहुने धारणा व्यक्त गरेका थिए ।
सम्मानित रेफ्री मल्लले ब्रिटिश तेक्वान्दो एशोसिएसनको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रेफ्रीको भुमिका गरेका थिए । जुन प्रतियोगितामा विश्वभरका सयौं खेलाडीले भाग लिएका थिए ।
अन्तर्राष्ट्रिय स्तरको उक्त च्याम्पियनसिपमा नेपाली खेलाडीले भागलिन नसकेपनि अफिसियलका रुपमा आफुले देशको प्रतिनिधित्व गर्न पाएको भन्दै मल्लले खुशी व्यक्त गरे । भविष्यमा ओलम्पिकमा समेत देशको प्रतिनिधित्व गर्दै रेफ्रीको भुमिका निभाउने लक्ष्य रहेको सुनाए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले नेपाललाई विश्माझ चिनाउने कार्यमा क्रिकेट पछि तेक्वान्दो रहेको भन्दै खेलाडी र अफिसियलको सम्मान आफ्नो संस्थाको प्राथमिकता रहेको बताए ।
यहि जुलाई २२ मा नेपाल फर्किने मल्ल कोरियामा आयाजना हुने एक राष्ट्रिय च्याम्पियनसिपमा रेफ्रीको चुमिका गर्न २३ तारिखमै त्यसतर्फ जांदैछन् ।






