आफु विरुद्ध परेको उजुरीबारे बोले रवि लामिछाने

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेले आफ्नो नागरिकतासम्बन्धी विवाद चार वर्षअघि नै मिलिसकेको बताएका छन् ।

रवि अमेरिकी नागरिक भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि रास्वपाका सभापतिसमेत रहेका लामिछानेले आफ्नो नेपाली नागरिकताले ४ वर्षअघि नै वैधानिकता पाइसकेको स्पष्टीकरण दिएका हु्न ।

नागरिकता विवादलाई लिएर आफूविरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि उनले बुधबार बिहान फेसबुक लाइभमार्फत आफ्नो बचाउ गरेका हुन् । उनले फेसबुक लाइममार्फत नागरिकताको विषयमा आफूले पटक पटक स्पष्टीकरण दिनुपरेको गुनासो पनि गरे ।

उनले प्रेस काउन्सिलदेखि अदालतसम्म आफ्नो नागरिकता विवादमा पटक पटक विवेचना भइसकेको बताएका छन् । रविविरुद्ध विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता नत्यागेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

उम्मेदवार लामिछानेविरुद्ध राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दर्ता गराएका हुन् । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसमाथि छानबिन भइरहेको छ ।

आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानूनी व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताएका छन् ।