डोटी। डोटी केन्द्रविन्दु भएर मंगलवार मध्यराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलवार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३, गैरागाउँमा भूकम्पले घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३, ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । तीमध्ये एकै परिवारका तीन जनासमेत रहेकाे गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।
भूकम्पमा परी घाइते ५ जनालाई अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मीनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।
भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए । त्यसअघि पनि राति ९ः०७ बजे दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।






