तास्मानिया । अस्ट्रेलियाको तास्मानियामामा पहिलो पटक आयोजना गरिएको नेपाल फेस्टिबल तास्मानिया भव्य रुपमा सम्पन्न भएको छ । नेपालीपन र नेपाली माटोको सुगन्ध बोकेको नेपाल फेस्टिबल तास्मानिया नोभेम्बर ६ अर्थात आईतबार तास्मानियाको राजधानी होबार्टको मुटु पार्लामेन्ट हाउस लन्समा भव्य समारोहकाबीच सम्पन्न भएको हो ।
२००६ सालमा सिड्नीबाट सुरु भएको नेपाल फेस्टिबल अस्ट्रेलियाका विभिन्न राज्यहरुमा आयोजना हुँदै आएको छ । नेपाली मौलिकताको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले गैर आवासीय नेपाली सघं एनआरएनएको आयोजनामा तास्मानियामा पहिलो पटक फेस्टिबल गरिएको हो कार्यक्रममा नेपाली मौलिक संस्कृति, रहनसहन, रितिरिवाज, विभिन्न भेषभुषा, खानाका परिकार, नेपाली बाजा, नेपाली झाँकी लगायतको प्रस्तुतीले एउटै मञ्चमा सिगों नेपाललाई प्रतिनिधित्व गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी अस्ट्रेलियाकालागि नेपाली राजदुत कैलाशराज पोखरेलले नेपाली मौलिकताको अस्ट्रेलियामा प्रवद्र्धन गर्न र यहाँको बहुसांस्कृतिक समुदायलाई नेपाली संस्कृति एवम् परम्परासगं आकर्षित गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले सांस्कृतिक विविधताले सम्पन्न नेपालको सम्पूर्ण पक्षलाई समेटेर फेस्टिबलले नेपालीको शिर उच्चो बनाएको समेत धारणा राखे ।
फेस्टिबलमा नेपाली मौलिक पोशाकका साथमा परेड, नेपाल हाउस, नेपाली बाजामा र्यालीका साथमा नाचगान, विभिन्न झाँकीहरु र अन्य नेपाली मौलिक संस्कृति आकर्षणको केन्द्र बनेको थियो । १२ बजेबाट सुरु भई २ बजेसम्म औपचारिक कार्यक्रम गरिएको थियो भने तत्पश्चात अन्य विभिन्न सांस्कृतिक एवम् रमाईलो कार्यक्रमहरु भएका थिए ।
गैर आवासीय नेपाली संघ तास्मानिया राज्य समितिका संयोजक राकेश शाक्यले कार्यक्रम पहिलो पटक आयोजना गरिएको भएपनि आफुहरुको अपेक्षा भन्दा पनि अझै भव्य रुपमा फेस्टिबल सम्पन्न भएको बताए । पहिलो पटक आयोजना गरिएको र त्यसमाथि पनि आफुहरुको लामो समयदेखिको तैयारी सार्थक बनेको भन्दै दर्शकहरुको उपस्थितिले उत्साह थपेको बताए ।
उनले नेपाल फेस्टिबलले अस्ट्रेलियाको स्थानीय समुदायलाई नेपाली कला संस्कृतिको बारेमा जानकारी गराउनुका साथै अस्ट्रेलियामा हुर्किरहेको नेपालको नयाँ पिडिलाई समेत पुस्तानान्तरण गर्न मद्धत पुग्ने धारणा राखे । उनले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले नेपाली समुदायहरुको बाक्लो बसोबास रहेको तास्मानियामा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागीता देख्दा खुसी लागेको बताए । उनले एनआरएनएका गतिबिधिहरु सगैं नेपालीपनको प्रबद्र्धन गर्न फेस्टिबलले निकै महत्व राखेको समेत धारणा व्यक्त गरे ।
त्यस्तै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङले एनआरएनए तास्मानिया एससीसी टिमले पहिलो पटक यति भव्य रुपमा कार्यक्रम सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । न्यू साउथ वेल्समा पनि आफुहरुले देखेका सिकेका कुराहरु प्रयोग गर्ने भन्दै नेपाल फेस्टिबल सिड्नीमा उपस्थितिकालागि सम्पूर्णलाई निमन्त्रणा दिए ।
फेस्टिबलमा ओसियानाका दिनेशराज जोशी, स्पोन्सरको तर्फबाट केबीए ग्लोबलबाट शम्भु कडेंल,आरजीआईटीबाट अनिल श्रेष्ठ,जगदीश खड्का, राकेश शाक्य लगायतको आतिथ्यता रहेको थियो भने तास्मानिया स्थित स्थानीय नेपाली समुदाय र अन्य समुदायका व्यक्तिगरी झण्डै ५ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो ।
फेस्टिबलमा नेपालको सागींतिक क्षेत्रमा स्थापित द एज ब्याण्डका साथमा दिपक बज्रचार्य र अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो सागींतिक प्रस्तुती दिँदै दर्शकहरुलाई नचाएका थिए । फेस्टिबललाई केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले मुख्य प्रायोजन गरेका थिए भने अन्य दर्जनौँ सघंसंस्थाले प्रायोजन गरेका थिए ।कार्यक्रमको एनआरएनएका कोषाध्यक्ष अनिल पोखरेल र लोकन विष्टले कार्यक्रम सञ्चालन गरेका थिए ।







