भारतमा झन्डै ४५ सय गैरसरकारी संस्था रद्द

भारतमा झन्डै ४५ सय गैरसरकारी संस्थाको लाइसेन्स एकसाथ रद्द गरिएको छ । थुप्रै खालका अनियमितता गरेको भन्दै भारत सरकारले ४ हजार ४७० संस्थाको अनुमति रद्द गरिदिएको हो । लाइसेन्स रद्द गरिएसँगै अब ती संस्थाले विदेशी दाताहरुबाट सहयोग राशी भित्र्याउन नसक्ने भएका छन् ।
लाइसेन्स रद्द गरिएकामा प्रतिष्ठित विश्वविद्यालय, सर्वोच्च अदालत बार एसोसिएसन, एस्कर्टस् मुटु अस्पताल जस्ता संस्थासमेत परेका छन् ।अनुगमनका क्रममा थुप्रै अनियमितता पाइएकाले अनुमति रद्द गर्नुपरेको भारतीय गृह मन्त्रालयले जनाएको छ ।
पन्जाव विश्वविद्यालय, गुजरात राष्ट्रिय विधि विश्वविद्यालय, दिल्ली गार्गी कलेजलगायत प्रतिष्ठित संस्थाले पनि अनुमति गुमाएका छन् ।यसअघि पनि विदेशी चन्दा कानुनको प्रावधान उल्लंघन गरिएको आरोपमा भारत सरकारले नौ हजार स्वयंसेवी संस्थाको लाइसेन्स रद्द गरिदिएको थियो ।