सिड्नीमा पनि छठ पर्वको व्यापक तैयारी

सिड्नी ।एसोसिएसन अफ नेपाल तराई (एएनटिए) अस्ट्रेलियाले सिड्नीको एञ्जल पार्कमा छठ पर्व सेलिब्रेसन कार्यक्रम राखेको छ । नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाईने छठ पर्व अस्ट्रेलियामा रहेका नेपालीहरुले पनि मनाउँदैछन् । लक्ष्मी पूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट सुरु हुने छठ पर्व प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाईन्छ ।

एएनटिएले यही अक्टोबर ३० तारिख बेलुकी ४ः३० बजेदेखि ८ बजेसम्म अस्ताउँदो सूर्यलाई अर्घ दिएर तथा ३१ अक्टोबर बिहान ५ बजेदेखि ८ बजेसम्म उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउने कार्यक्रम राखेको अध्यक्ष सुवाशं शाहले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

छठ पर्वमा सहभागी हुन सम्पूर्णलाई निमन्त्रणा गरिसकिएको र तैयारी लगभग अन्तिम चरणमा पुगेको उनले बताए । घाटहरु सजावट गर्ने, प्रसाद, लगायत निमन्त्रणाको काम सहित अन्य कामहरु सकिएको र सबैलाई छठ पर्वमा सहभागी हुन उनले आग्रह समेत गरेका छन् । झण्डै ३ सय भन्दा बढीको सहभागीता हुने आयोजकको अपेक्षा छ ।

सिड्नीमा २००८ बाट लगातार रुपमा छठ पर्व मनाउँने गरिएको उनले शाहले बताए । छठ पर्वमा ब्रत गरेमा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

यसमा झुप्पा-झुप्पा फलहरु चढाउँदा सूर्य देउता प्रसन्न भई ब्रतीको परिवारलाई भलो हुने जनबिश्वास रहँदैआएको छ । यस पर्वमा जो ब्रत बस्न सक्दैन उसले अरुबाट समेत ब्रत गराउने गर्छन् । आर्थिक अभाव रहेमा वा भाकल पूरा भएकाहरुले भिक्षा मागेर पनि यो पर्व मनाउने गरिन्छ ।