सिड्नी ।अस्ट्रेलिया सरकारले २०२० को बजेट सार्वजनिक गरेको छ । जसमा साना करदातालाई छुट देखी आम्दानी अनुसारको अनुदान रहेको छ ।
मोरिसन सरकारले करछुट गर्ने, भत्ता दिने, १६ देखी ३५ बर्ष उमेर समुहका युवाहरुलाई रोजगार दिने कम्नपनीहरुलाई हप्तामा २ सय ५० डलर दिने योजना ल्याएको छ । सरकारले साढे ४ लाख नया रोजगारी थप्ने योजना अनुसार यस खालको अनुदान दिने भएको हो । कोरोना महामारीले कारण अर्थतन्त्र पछिल्लो तीस बर्ष यताकै खराब भएको भन्दै उक्त आर्थिक मन्दीलाई सम्बोधन गर्ने गरी यस प्रकारको बजेट ल्याएको सरकारका कोषाध्यक्ष जोश फ्राइडेनबर्गले बताए ।
२०२० मा अष्ट्रेलियाको आर्थिक वृद्धि ३.७५ मा सीमित भएको छ । सरकारले कोरोना महामारीको भ्याक्सिन निर्माणको निम्ती १.७ विलियन डलर छुट्टाएको छ । सरकारले आगामी दिनसम्म परिस्थिती सहज हुने, कोरोना महामारी विरुद्धको भ्याक्सिन निर्माण हुने, आन्तरिक सीमाहरु खुला हुने, तथा अन्तराष्ट्रिय विद्यार्थीहरु आउने अपेक्षा गरेको छ ।
बजेट भाषणमा बोल्दै कोषाध्यक्ष फ्राइडेनबर्गले भने, “न त विश्वको आर्थिक मन्दी, दुई विश्वयुद्धहरुले अष्ट्रेलियाको अर्थतन्त्रलाई घुँडा टेकाउन सक्यो, न त कोभिड १९ ले सक्नेछ।” उनले कोरोना महामारीले देशको आन्तरिक शक्तिलाई प्रष्ट रुपमा देखाएको बताए । उनले आवश्यकता परेका ब्यक्तिहरुको हितमा हुनेगरी बजेट ल्याइएको सुनाए । यस बर्ष सरकारले २१३ विलियन बजेट घाटामा रहने बताएकोे छ ।
कर छुटबाट ५० बिलियन डलर अष्ट्रेलियन करदाताहरुलाई दिइनेछ । ४ विलियन डलर १६ देखी ३५ बर्ष उमेर समुहका कामदारलाई तलब दिने उद्धेश्यले अनुदान दिन खर्च गरिने भएको छ । जसमा १६ देखि ३० वर्ष उमेरका व्यक्तिहरुलाई रोजगार दिने रोजगारदाताले प्रतिहप्ता २ सय डलर प्राप्त गर्नेछन् भने ३० देखि ३५ वर्ष उमेर समूहका कामदारलाई लिनेहरुले प्रतिसाता १ सय डलर अनुदान पाउनेछन् । ईनहोम एज्डकेयर प्याकेज अन्तर्गत २३ हजार व्यक्तिलाई १.६ विलियन डलर, विशेष आवश्यकता भएका ब्यक्तिहरुलाई ५ सय डलर भत्ता दिने गरी २.६ विलियन डलर छुट्टाइएको छ । अब अष्ट्रेलियन तथा नन अष्ट्रेलियन दुवै बासिन्दाहरुलाई राहत हुने गरी आम्दानी अनुसारकोे कर छुटको व्यवस्था गरेको छ । ४५ हजारदेखि ९० हजारसम्म बार्षिक आम्दानी गर्नले एक हजार ८० डलर छुट पाउनेछन भने ९० हजार देखी माथि कमाउनेले २ हजार ५६५ डलर छुट पाउनेछन् । नयाँ घर बनाउने, मर्मत गर्ने तथा खरिद गर्नेहरुका लागि पनि अनुदान दिइनेछ ।
अन्तराष्ट्रिय विद्यार्थीको आगमनलाई रोक
यसैबिच सरकारले केही समयको लागि अष्ट्रेलियामा विद्यार्थीहरुलाई आउन नदिने भएको छ । महामारी नियन्त्रणमा नआइसकेको र यस विरुद्ध लगाउने खोप पनि बनिनसकेको कारण केही समय सीमा नखोल्ने भएकोे हो । जस अनुसार विद्यार्थीहरुलाई यहाँ आउनको निम्ती केही समय पर्खर्नुपर्ने देखिएको छ । जसअनुसार अब नेपाली विद्यार्थी पनि तत्कालै अष्ट्रेलिया आउन पाउनेछैनन् । सरकारले देशमा २०२१को अन्त्यसम्ममा अहिलेको १ लाख ५४ हजार रहेको आप्रवासीकोे संख्या ७२ हजारमा सीमित हुने बताएकोे छ । त्यसपछि २०२१ को अन्तिमतिरबाट भने आप्रवासीको आगमन बढ्ने छ । २०२४ सम्ममा २ लाख १ हजार जना आप्रवासीहरु भित्रिने छन् ।






