लण्डन न्यूज नेपाल सवांददाता,गुल्मी । नेपाली मौलिक बाजाको संरक्षण सगैं स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा आयोजित तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला सुरु भएको छ ।
नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा विस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला नौमती सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो ।
मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न स्थानीय संस्कृति तथा झाँकी सहित नौमती बाजाका साथमा बजार परिक्रममा गरि सुरु भएको महोत्सवको उद्घाटन प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खरेलले संस्कृति र कलाले सबै समुदाय वर्ग र जातजातिलाई जोड्ने भन्दै मौलिक संस्कृति र सांस्कृतिक परम्परा जोगाउन यस महोत्सवले मुख्य भूमिका खेलेको बताए ।
उनले लोपोन्मुख संस्कृति, परम्परा र मौलिक कलाहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रमले सिगों मुसिकोट प्रतिनिधित्व गर्ने गरी अझै ९ वटै वडालाई नै समेटेर अगाडी लैजान सुझाव दिए । उनले नेपालमै यो नमुना र नौलो अभ्यास भएको समेत धारणा व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्व विद्यालयका अग्रेंजी केन्द्रीय विभाग प्रमुख प्रा.डा.जिवलाल सापकोटाले विश्व संस्कृतिमा सबैभन्दा प्राचीन र उत्कृष्ट संस्कृति बनेको नेपाली संस्कृति विस्तारै लोपोन्मुख अवस्थामा रहेकाले त्यसको जगेर्नासगैं मौलिक प्राचिन संस्कृतिसगं नयाँ पुस्तालाई साक्षात्कार गराउन र पुस्तान्तरण गर्न महोत्सव नेपालकै नमुना महोत्सव सावित भएको बताए । उनले यस्ता संस्कृतिहरु पाठ्यक्रममा नै समावेश गरिनुपर्ने धारणा व्यक्त गरे ।
महोत्सवमा मुसिकोट नगरपालिकाका विभिन्न समुदायमा रहेका स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न झाँकी तथा स्थानीय विभिन्न जातजातिका आ-आफ्नै मौलिक संस्कृति समेत प्रस्तुत गरिएको थियो । यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिहरुको जगेर्ना र प्रवद्र्धन गर्ने उद्धेश्य सहित प्रस्तुत गरिएको स्थानीय विभिन्न झाँकीहरुले समग्र स्थानीय संस्कृतिलाई एउटै मञ्चमा प्रतिनिधित्व गरेको थियो ।
उक्त अवसरमा मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको सयुंक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, वामीबजारको लाखे नाच प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण मानिएको नौमती बाजा प्रतियोगीता पनि सम्पन्न भएको छ । बागलुङको गल्कोट, तमानखोला, ढोरपाटन तथा बुटबल र गुल्मीका विभिन्न ठाउँका गरी १७ वटा समुहले प्रतियोगीतामा सहभागी भाग लिएका थिए । पञ्चेबाजामा कलाकारहरुबीच दोहोरीका साथमा नृत्य समेत सञ्चालन भएको थियो ।
नौमती बाजा प्रतियोगीतामा प्रथम हुँदै ताराखोला बाजा समुहले नगद रु ५५ हजार ५ सय ५५ र ट्रफी हात पारेको छ । त्यस्तै भिरखानी बाजा समुहले द्धितिय हुँदै नगद रु ४४ हजार ४ सय ४४ र बुटबल बाजा समुहले तृतीय हुँदै नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पारेका छन् ।
वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गरेको हो । समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आईरहेको महोत्सव कोरोना महामारीका कारण यस वर्ष भने ४ वर्षपछि गरिएको छ ।







