नेपाल अवतरण गरेलगत्तै सन्दीप लामिछाने पक्राउ, बलात्कार पुष्टि भए १२ वर्षसम्म कैद !

काठमाडौँ — नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

२०७९ भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको किशोरीको आरोप छ ।  

अहिले सन्दीपको मेडिकल परीक्षणका लागि अस्पताल लगिएको उनका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो । त्यहाँबाट अस्पताल लगिएको हो । 

अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राख्यो भने नेपाल क्रिकेट संघ(क्यान) ले कप्तानबाट निलम्बन गरेको थियो । निलम्बन हुनुअघिसम्म क्यानको सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए । उनी प्रहरी र क्यान दुवैको सम्पर्कमा नआएपछि विमानस्थल अध्यागमन कार्यालयले पनि उनलाई कालो सूचीमा राखेको थियो ।

नेपाल नफर्किएपछि प्रहरीले गत असोज ७ मा इन्टरपोलको डिफ्युजन नोटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खोजी अघि बढाएको थियो ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।

नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आवद्ध थिए ।