बेलायतस्थित समाजसेवी पशुपति भण्डारीलाई प्रबल जनसेवाश्री पदक

लण्डन । बेलायतमा रहेर ’हस्पिटालिटी’ सेवा मार्फत नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुराए वापत उद्यमी पशुपति भण्डारीलाई नेपाल सरकारले सम्मानित गरेको छ ।

संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले उनलाई प्रबल जनसेवाश्री पदक प्रदान गरेकी छन् ।

राष्ट्रले आफ्नो योगदानको कदर गरेर पदक प्रदान गरेको प्रति उनले खुसी व्यक्त गरे । अझै धेरै गर्ने प्रेरणा मिलेको भन्दै उनले नेपालको पर्यटन प्रवर्द्धन गर्न र नेपालीको शिर उँचो राख्न आगामी दिनमा म अझ बढी कटिबद्ध भएर लाग्ने बताए ।

गुल्मीमा जन्मिएका भण्डारीले लन्डनस्थित एकेडेमी अफ प्रोफेशनल स्टडिजबाट एमबीए गरेका छन् । एभरेस्ट इन युके चेन रेस्टुरेन्टका संस्थापक तथा अध्यक्ष भण्डारी बेलायतका लागि नेपाल पर्यटन बोर्डका पूर्व स्थायी प्रतिनिधि पनि हुन् ।

उनले बेलायतस्थित स्थानीय समुदायद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाउनुका साथै नेपाली संस्कृति चिनाउन विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मानार्थ सदस्य भण्डारी यति नेपाली संघ, कोसेली युके, गुल्मी जिल्ला समाज युके, नेपाली क्याटरर्स एसोसियशन युके लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । उनले नेपालमा जलविद्युत, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रमा लगानी पनि गरेका छन् ।