एनआरएनए स्वास्थ्य समितिको चौँथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले चौँथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न गरेको छ ।

आईतबार सिड्नीमा सम्पन्न सम्मेलनले १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको कार्यपत्र प्रस्तुत कर्ता बिज्ञ डा. राजु अधिकारीले जानकारी दिए । प्रत्येक वर्ष छुट्टा छुट्टै देशमा सम्मेलन हुने गरेको कार्यक्रम यस वर्ष अस्ट्रेलियामा सम्मेलनको आयोजना गरिएको थियो ।

प्रत्यक्ष तथा भर्चुवल माध्यमबाट सम्पन्न भएको सम्मेलनमा नेपालबाट आएका वैज्ञानिकहरुले मानसिक स्वास्थ्य, दिर्घ रोग नेपालमा पछिल्लो समय बढ्दै गईरहेका स्वास्थ्य समस्या त्यसको निराकरणका उपाहरु र एनआरएनएले के गर्न सक्छ भन्ने विषयमा समेत वृहत रुपमा छलफल भएको थियो ।

‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित सम्पन्न सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो । सम्मेलनका २५ वटा सत्रमा एक सयभन्दा बढी विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालबाट आएका अभिभावक आमा बुबाहरुका लागि मानसिक स्वास्थ्य तथा अन्य विभिन्न रोगहरुका बारेमा जानकारी गराईएको थियो ।

सम्मेलनबाट जारी घोषणापत्रमा कोरोना महामारीले थला परेको स्वास्थ्य क्षेत्र लगायत यसकारण निम्तिएका विभिन्न समस्याहरुका समाधानका विषयमा एकजुट हुने लगायतका अन्य पन्ध्र बुँदामा घोषणापत्र जारी गरिएको छ ।

यस्तो छ घोषणा पत्र

१. स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । हरेक राष्ट्रको समृद्धि, सामाजिक अनि आर्थिक विकासका लागि स्वस्थ नागरिक अपरिहार्य हुन्छ । हरेक नागरिकको जीवनस्तर उकास्ने पहिलो आधार पनि गुणस्तरीय स्वास्थ्य नै हो भन्नेमा हामी विश्वभर छरिएर रहेका नेपाली स्वास्थ्यकर्मी एवं चिकित्सकहरु विश्वस्त छौँ । हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आवश्यक भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौँ । साथै, विदेशमा सिकेका ज्ञान र सीपलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगाउन नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

२. कोरोना भाइरसको महामारीले विश्वका हरेक स्थानमा रहेका नेपाली पनि प्रत्यक्ष- अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । महामारीबीच उत्पन्न मानसिक स्वास्थ्य संकट अझ अर्को भयावह पक्ष हो । यसर्थ, मानसिक स्वास्थ्य संकट समाधानसहित हरेक व्यक्तिको चौतर्फी विकासका लागि विशेष योजना सहितका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने ऐक्यबद्धता व्यक्त गर्दछौँ ।

३. ‘मानसिक स्वास्थ्य नै सम्पूणर् स्वास्थ्य हो’ भन्ने मूल सिद्धान्त अनुरुप विश्वभर छरिएर रहेका सम्पूणर् विज्ञ, विशेषज्ञ, मनोविद्, सल्लाहकार एवं मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत सम्पूणर् महानुभावहरूलाई यसै सम्मेलन मार्फत् मानसिक स्वास्थ्यको विश्वव्यापी सञ्जालमा आबद्ध हुन आह्वान गर्दछौँ ।

४. छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका समस्या समाधान तथा न्यूनीकरणका लागि बृहत् जनचेतना फैलाउन विशेष कार्यक्रम सञ्चालन गर्न अपरिहार्य देखिएकोले विश्वभरि छरिएर रहेका नेपालीहरुमा विविध कारणले देखा परेका वा देखा पर्न सक्ने मानसिक स्वास्थ्य समस्या समाधानका लागि आ-आफ्नो स्थानबाट जनचेतना प्रवाह गर्न आह्वान गर्दछौँ ।

५. निजी तथा सरकारी क्षेत्रका सम्पूणर् साझेदारहरूलाई नेपालमा मानसिक स्वास्थ्यको सहज र सुलभ पहुँच वृद्धि गर्न आवश्यक संरचनाहरू जस्तै ‘क्राइसिस सेन्टर,’ आत्महत्या रोकथाम परियोजना, परामर्श क्लिनिक, पुर्नवास केन्द्र लगायतमा लगानी गर्न प्रोत्साहन तथा आग्रह गर्दछौँ ।

६. नेपालमा वा नेपाल बाहिर यूरोप, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका लगायतका देशमा रही स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, मानसिक स्वास्थ्य क्षेत्रका विज्ञ, विशेषज्ञ, सम्पूणर् स्वास्थ्यकर्मी, नीति निर्माणकर्ता, सामाजिक अभियन्ता तथा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरूलाई संगठित भई हातेमालो गरी,सूचना आदानप्रदान, सरसल्लाह, सीप विकास र अनुभव साटासाट गर्ने साझा सञ्जालको विकास गर्न आव्हान गर्दछौँ ।

७. मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रांत पारेको तीतो सत्य हामीमाझ छ । यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य सम्बर्द्धनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक ठानिएको छ । यसका लागि स्वस्थ जीवनयापन, गुणस्तरीय जीवनशैली, गुणस्तरीय खानपान एवं पोषण, र तनाव व्यवस्थापन लगायतमा ध्यान दिँदै यी क्षेत्रमा बृहत् चेतना अभिवृद्धि गर्न अपिल गर्दछौँ । महिलामा हुने पाठेघर, स्तन क्यान्सर तथा जो कोहीलाई हुन सक्ने क्यान्सरको पहिचान र त्यसको रोकथामका लागि विशेष पहल र कार्ययोजनासहित अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ ।

८. स्वस्थ समाज निर्माण एवं नागरिक स्वास्थ्य अभिवृद्धिका लागि चिकित्सा, योग, आयुर्वेद, होमियोपेथी, अकुपंचर लगायत परापूर्वकालदेखि आधुनिक विज्ञान सम्मले स्वीकार गरेका स्वास्थ्य पद्धतिको लोकप्रियता र प्रभावकारिता विश्वस्तरमै व्यापक बन्दै गएको छ । सम्मेलनमार्फत हामी आयुर्वेद एवं वैकल्पिक चिकित्सा पद्धतिमा नेपालमा र नेपाल बाहिर रहेका नेपालीहरूलाई समेट्न तथा त्यसबाट लाभान्वित हुनसक्ने वातावरण निर्माणका लागि आह्वान गर्दछौँ । त्यसका लागि आवश्यक अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन, सर्वसूलभता र प्रचारप्रसारका लागि नेपाल सरकार तथा सरोकारवाला निकायसँग पनि सहकार्य र हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

९. स्वास्थ्य क्षेत्रको बृहत् विकास र नागरिक स्वास्थ्य सुनिश्चितताका लागि एक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला सबैसँग अपिल गर्दछौँ ।

१०. विभिन्न रोगजन्य महामारी, प्राकृतिक प्रकोप तथा विपदका बेलामा पनि स्वास्थ्य पूर्वाधार, स्वास्थकर्मी, चिकित्सक एवं स्वास्थ्य सेवाको अभावका कारण ज्यान गुमाउन बाध्य नेपालीको संख्या उल्लेख्य छ । यो विकराल अवस्थाको अन्त्यका लागि दूरदराजसम्म स्वास्थ्य सेवाको सहज पहुँच स्थापित गर्नु अनिवार्य देखिएकाले यस सम्बन्धमा गम्भीर हुन हामी नेपाल सरकारसँग अपिल गर्दछौँ । साथै, र्यापिड रेस्पन्स टीम ( २४ घण्टाभित्र स्वास्थ्यकर्मी सहितको टोलीले सेवा प्रवाह गर्न सक्ने ) भौतिक संरचना निर्माण र दुर्गम स्थानमा प्रोत्साहनसहितको सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण, भौतिक एवं प्राविधिक सहयोगका लागि नेपाल सरकारसहित विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरु समक्ष आव्हान गर्दछौं ।

११. घुम्ती स्वास्थ्य सेवा, क्लिनिक, म्यामोग्रम, रक्तदान बस लगायतका लागि आवश्यक सहयोग जुटाउने तथा यसका साथै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी दूरदराजसम्म पनि स्वास्थ्य सेवा प्रवाह गर्न आह्वान गर्दछौँ ।

१२. स्वास्थ्यको पहुँचबाट कोही पनि नेपाली विमुख हुन नपरोस् भन्नेमा हामी एकमत छौँ । सीमान्तकृत र भौगोलिक वा अन्य कारणले पिछडिएका तथा विविध कारणले ओझेलमा परेका समुदायमा समान स्वास्थ्य सुविधा र पहुँचका लागि नेपाल सरकार समक्ष अनुरोध गर्दछौँ ।

१३. नेपालको स्वास्थ्य क्षेत्रको विकास र हरेक नेपाली स्वस्थ नेपाली एवं सहज स्वास्थ्य सेवाको पहुँच लगायतका अवधारणा र लक्ष्य हासिल गर्दै विश्वभरका स्वास्थ्यकर्मी, चिकित्सक एवं सरोकारवाला सहित नेपाल सरकारसँग समेत सहकार्यका लागि यो सम्मेलनलाई निरंतरता दिने प्रण गर्दछौँ ।

१४. विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मी एवं चिकित्सक, विज्ञ, विशेषज्ञ लगायत समग्र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तित्वहरुलाई एउटै सूत्रमा बाँधी नेपाल र नेपालीप्रति थप जिम्मेवार बनाउने, यस क्षेत्रमा देखिएका समस्या पहिचान एवं निराकरण गर्ने तथा नीतिनिर्माण तहमा गर्न सकिने योगदान लगायतका विषयमा बृहत् छलफल गर्ने उद्देश्यले यही वर्षको डिसेम्बर महिनाभित्र एनआरएनए अमेरिकामा क्षेत्रीय स्वास्थ्य सम्मेलन र पाँचौ विश्व स्वास्थ्य सम्मेलन क्यानाडामा आयोजना गर्ने निणर्य गरिन्छ ।

१५. अन्त्यमा,गैरआवासीय नेपाली संघ, चौथो नेपाली विश्व स्वास्थ्य सम्मेलन सम्पन्न गर्न सहयोग गर्नुहुने गैरआवासीय नेपाली संघ अष्ट्रेलिया, एनआरएनए अन्तर्राष्ट्रिय परिषद, नेपाल सरकार, बुद्धिजीवि, सल्लाहकार, विशेषज्ञ, विज्ञ, सम्पूणर् सञ्चारकर्मी र विश्वभर छरिएर रहेका नेपालीहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।

सन्जीव सापकोटा

अध्यक्ष

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समिति