सिड्नी । मगर समाज अस्ट्रेलियाको माघे सक्रांन्ति मेला भव्य रुपमा सम्पन्न भएको छ । समाजले ११ जनवरी गोह्वीट ल्याम्प पार्कमा माघी पर्वको अवसर पारेर विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको हो । पुजाआजा सहित दिउँसो ३ बजेबाट कार्यक्रम सुरु भएको हो । समाजका अध्यक्ष लोकेश राम्जाली मगरको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न मगरका भेषभुषा, पहिचानगत नृत्य र मगर जातिका विभिन्न मौलिक संस्कृतीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा निम्फाका अध्यक्ष सुदर्शन थापा मगरले निम्फाले सबै जनजातिहरुका अधिकारहरुका लड्दै आईरहेको बताए । उनले निम्फाले सामुहिक दायित्व बहन गर्दै अन्य सघंसंस्थासगं हातेमालो गरेर अगाडी बढ्ने बताए । मगर संघले विशेषगरी मगर समुदायको कला, संस्कृती संरक्षण र प्रवद्र्धनका लागि महत्वपूर्ण कार्य गर्दै आएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष अनिल पोखरेल, वाणिज्यदूत सञ्जिव शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न समाजका प्रतिनिधिहरु, समाजसेवीहरु, सञ्चारकर्मीहरु र मगर तथा गैर मगर समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली लोक संस्कृति झल्कने झाँतो, हलो जुवा, पञ्चेबाजा लगायतका मौलिक सामाग्री राखिएको थियो । कार्यक्रममा विभिन्न खेल समेत खेलाईएको थियो । कार्यक्रममा स्थानीय कलाकारसगैं नेपालबाट आएका कलाकारहरुको सागींतिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रममा सहयोगी प्रायोजक तथा कार्यक्रम सम्पन्न गर्न विभिन्न तहबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।







