एनआरएन अस्ट्रेलियाको समाज कल्याण कोषको सहयोगार्थ कार्यक्रम हुँदै

सिड्नी । गैर आवासीय नेपाली सघं (एनआरएनए) अस्ट्रेलिया अन्तर्गत रहेको समाज कल्याण कोषको सहयोगार्थ विशेष कार्यक्रम हुने भएको छ । विभिन्न विपत्तिमा एनआरएनएले उक्त कोष मार्फत थुप्रै सहयोग गर्दै आईरहेको छ ।

सेप्टेम्बर २३ मा झरना फंक्सन सेन्टर रक्डेलमा अन्तरक्रिया सहित समाज कल्याण कोष जुटाउन गाला डिनर र अन्य विविध कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाली समुदाय र नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापित कोषको रकम विस्तारै सकिन थालेकाले सहयोग सकंलन कार्यक्रम आयोजना गरिएको एनआरएन अस्ट्रेलियाकी सचिव तथा समाज कल्याण कोषकी सयोंजक सन्ध्या शाहले जानकारी दिईन् ।

कार्यक्रममा नेपाल आईडलका उप विजेता विक्रम बरालले एकल सागींतिक प्रस्तुती दिएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । त्यस्तै सोही कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलको समेत प्रमुख आतिथ्यता रहेनछ भने नेपाली समुदायका अन्य व्यक्तित्व, विभिन्न सघंसंस्थाका गरी झण्डै २ सय जनाको उपस्थिति रहने आयोजकले अनुमान गरेको छ ।

के हो एनआरएनएको सामाजिक कल्याण कोष ?

एनआरएन अस्ट्रेलियाको समाज कल्याण कोष परोपकारी कोष हो ।एनआरएन अस्ट्रेलियाको सदस्यता शुल्क मध्ये ५ डलर उक्त कोषमा जम्मा हुने गर्दछ ।   सन् २०११ मा यसको स्थापना भएको थियो । अस्ट्रेलियामा बढ्दो नेपाली समुदाय र यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई पर्ने विभिन्न आकस्मिक विपत्तिमा तत्काल राहत तथा पुर्नस्थापना गरी उनीहरुलाई आवश्यक सहयोग गर्ने हेतुले यसको स्थापना गरिएको हो ।

स्थापना कालदेखि कोष मार्फत थुप्रै राज्य र क्षेत्रहरूमा सयौं खाँचोमा परेकाहरूलाई मद्दत गरेको छ । गत वर्ष मात्रै अस्ट्रेलिया सामाजिक कल्याण कोषले लगभग ५९ परिवार/विद्यार्थीहरूलाई झण्डै ७३ हजार डलर भन्दा बढी सहयोग गरेको छ ।

कोष मुख्यतः अन्त्येष्टि र मानसिक स्वास्थ्य समस्या भएका विद्यार्थीहरूको स्वदेश फिर्ता लगायतका कार्यहरूमा खर्च गरिएको थियो । त्यस्तै गम्भीर प्रकारका बिरामीहरु क्यान्सर, गम्भीर चोटपटक र आर्थिक कठिनाइको समयमा अस्थायी स्वास्थ्य सहायता जस्ता टर्मिनल रोग भएका बिरामीहरूलाई समेत सहयोग गर्ने गरिन्छ ।

उक्त कोष मार्फत कोरोना महामारीको समयमा ६० जना भन्दा बढी संख्यामा सहयोग गरेको थियो । उक्त सहयोग नेपाल पठाउने,आपत विपतमा सहयोग गर्दै आकस्मिक रुपमा खर्च गरिएको कोषकी सयोंजक शाहले जानकारी दिईन् ।

यो परोपकारी कार्यमा संलग्न भई टिकट लिन यहाँ क्लिक गर्नुहोस्