बेलायतको वृहत ‘नेपाली मेला’ हेर्न ओइरिए हजारौं नेपाली (भिडियो /फोटो फिचर)

लण्डन । नेपाली कला, संस्कृति र भेषभूषा झल्काउने बेलायतको एउटा वृहत नेपाली मेला आइतबार केम्पटन पार्क रेस कोर्स लन्डनमा सम्पन्न भएको छ ।

तमुधिं युकेको आयोजनामा १३ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको हो । आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला हेर्न वेलायतका बिभिन्न ठाउ बाट हजारौं दर्शकहरुको ओइरो लागेको थियो ।

गर्मि मौसमको आनन्द लिदै वेलायतस्थित समाजिक संघ-सँस्थाहरुले नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै नेपाली मेलामा रनौक थपेका थिए।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल,विभिन्न देशका दुतावासका प्रतिनिधिहरु र स्थानीय काउन्सिलर लगायतका अतिथि सहभागी थिए ।

मेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राजदुत आचार्यले विगत १३ वर्ष देखि तमुधी  युकेले आयोजना गरिरहेको नेपाली मेलाले सिगों नेपालकै प्रतिनिधित्व भएको आफुलाई भान भएको बताए । उनले नेपालको विविधता झल्किने तथा नेपालबाट टाढा रहेर पनि नेपाल र नेपाली संस्कृति, नेपाली परम्परा र नेपाली भाषालाई जीवन्त बनाउदै नेपाल र विदेशमा रहेका नेपालीहरुलाई जुटाउने गरी कार्यक्रमको शुभारम्भ गरेको र यसले निकै राम्रो सन्देश दिएको बताए ।

राजदुत आचार्यले विश्वभर रहेका नेपालीबीच सुमधुर सम्बन्ध कायम गर्नुका साथै आपसी सहयोग र सदभाव कायम गर्दै विविधतायुक्त नेपाललाई बेलायतको नेपाली मेलामा प्रस्तुत गरेकोमा धन्यवाद व्यक्त गरे । उनले विदेशमा समेत नेपाली संस्कृति कला र विविधतालाई झल्काएको भन्दै यसले नेपाललाई समग्र पक्षबाट चिनाएको बताए । यस्तो महत्वपूर्ण कार्यक्रमलाई आफुलाई आमन्त्रण गरेकोमा राजदुत आचार्यले धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले नेपाली कला संस्कृति, भाषा र परम्परा संरक्षण गर्ने परिकल्पना सहित नेपाली मेलाको आयोजना गरेको वताए । उनले नेपाली मेला वेलायतस्थित सबै नेपाली समुदायको भएको वताउँदै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरे ।

तमुधिं यूके महासचिव परशुराम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवम् तमुधिं यूके वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिएका थिए।

कार्यक्रममा बेलायतभरका विभिन्न क्षेत्रबाट हजारौं नेपालीहरु भेला भएको मेलामा बेलायतका झण्डै तीन दर्जन बढि नेपाली संघसंस्था र समुदायले आफ्ना परम्परा एवम् संस्कृति झल्काउने झाँकीहरु प्रस्तुत गरेका थिए ।

सहभागी समुहहरुले आ आफ्ना मौलिक सांस्कृतिक नृत्यहरु समेत देखाएका थिए । स्थानीय नेपाली युवाहरुले आकर्षक सांगीतिक प्रस्तुति पस्किएका थिए । प्रतियोगितात्मक रुपमा गरिएको झाँकीका प्रस्तुतिहरु निकै आकर्षक थिए ।

एम्बासडर कप घान्द्रुक समाज यूकेलाई

मेलामा प्रस्तुत सांस्कृतिक झांकी र नृत्यहरुमध्ये सर्वोत्कृष्ट बन्दै यस वर्षको एम्बासडर कप घान्द्रुक समाज यूकेले जित्यो । गत वर्षको विजेता सिक्लेस पार्चे समाज यूके दोस्रो र तमु समाज यूके तेस्रो स्थान प्राप्त गर्न सफल भए।

लन्डनस्थित नेपाली दूतावासले प्रायोजन गरेको ‘एम्बासडर कप’ विजेता घान्द्रुक समाज यूकेले नगद ११ सय पाउन्डसहित कप प्राप्त गरयो । दोस्रो स्थान जित्ने सिक्लेस पार्चे समाज यूकेले नगद ७ सय पाउन्ड र तेस्रो स्थानको तमु समाज यूकेले नगद ५ सय पाउन्डसहित पुरस्कार पाए।

मेलामा प्रस्तुत झांकीहरुमध्ये उत्कृष्ट बन्दै सिक्लेस पार्चे समाज यूके पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो। त्यस्तै, झाँकीतर्फ दोस्रो र तेस्रो स्थान क्रमशः घान्द्रुक समाज यूके र किरांत राई यायोक्खाले ओगट्न सफल भए।

पुरा भिडियो हेर्नुस्

मेलामा विभिन्न नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राखिएका थिए ।