कैलालीमा बच्चा देखी वृद्ध रुघाखोकी र ज्वरोको प्रकोप

कैलाली। कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो ।

कैलाली। बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो बिसेक भए पनि खोकी एक साताभन्दा बढी समयसम्म रह्यो । बच्चासँगै आमा र घरका अन्य सदस्यलाई पनि रुघाखोकी र ज्वरोले सतायो । “परिवारका सबैलाई च्याप्यो, रुघाखोकी र ज्वरोका कारण बच्चालाई एक साता विद्यालय पठाएनौँ”, विकले भने ।

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका छन् । परिवारका पूरै सदस्य बिरामी भएको पाइएको सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाह बताउछिन् ।

“विगतमा दैनिक ३५ जनासम्म बिरामी आउँथे, हाल दैनिक ६० बिरामीको उपचार गर्नुपरिरहेको छ”, उनी भन्छिन् “बिरामी एकै घरका बच्चादेखि वृद्धसम्म रहेका छन् ।”