सिड्नी । वीर गोर्खालीहरुको वीरता,सघंर्ष र जीवन कथा बोल्ने चलचित्र ‘गोर्खा बिनिथ द ब्रभरी ‘अस्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ ।यसअगाडी बेलायतका विभिन्न सहरहरुमा प्रदर्शन तयारी गरेको उक्त चलचित्र सेप्टेम्बर ३ शनिवार सिड्नीको इभेन्ट्स सिनेमा बर्वुडमा दिउँसो १ः३० बजे प्रिमियर हुने भएको छ ।
एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स, गोर्खा-नेपाली समुदाय (जीएनसी ) र निर्माता ब्रभरी टिमको सयुंक्त सहकार्यमा चलचित्र प्रदर्शन गर्न लागिएको ६ अगस्ट शनिवार प्रेस मिट मार्फत जानकारी गराईएको हो । एनआरएन न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, सहसयोंजक सुकृती भट्ट, सचिव बिनोद कुँवर,जीएनसी अध्यक्ष राजन थापा, उपाअध्यक्ष रजीब प्रधान, सचिव इराद थापा लगायतले मोर्टडेलको गोर्खे प्यालेसमा सम्पन्न एक प्रेस मिट कार्यक्रम मार्फत चलचित्र प्रदर्शन गर्न लागिएको जानकारी गराएका थिए ।

शनिवार सम्पन्न प्रेस मिटमा चलचित्रका निर्देशक प्रदिप शाही, कलाकारहरु समिर गुरुङ, गौमाया गुरुङ र जनरल क्याप्टेन ओली बस्सी लगायतले जुम मार्फत सहभागी हुँदै चलचित्रका विषयमा बोलेका थिए ।

चलचित्रको विषयमा परिचयात्मक जानकारी गराउँदै सुकृती भट्टले कार्यक्रम सञ्चालन गरेकी थिईन् । प्रेस मिट कार्यक्रममा चलचित्रको बारेमा जानकारी दिँदै एनआरएन न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले चलचित्रले दिने सन्देश र चलचित्रसगं जोडिएको नेपाली विर गोर्खालीहरुको ईतिहास नेपालीले जान्नै पर्ने विषय रहेकाले अस्ट्रेलियामा प्रदर्शन गर्नुका उद्धेश्यबारे जानकारी गराएका थिए ।
गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष राजन थापाले सहकार्यमा चलचित्र प्रदर्शन गर्न लागिएको बताए । चलचित्रमा सम्पूर्ण कलाकारहरुले स्वयंसेवकको रुपमा काम गरेका थिए । चलचित्र प्रिमियरबाट हुने आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने बताइएको छ ।

चलचित्र हेर्नका लागि अग्रिम टिकट बुकिङ समेत खुल्ला गरिएको छ । टिकट लिनका लागि देव गुरुङ सम्पर्क नं ०४२२०३१६६१, राजीव प्रधान ०४०२ ८८८५६६, सुकिर्ति भट्ट ०४१०७७५२१२,इराज थापा ०४०२५०४३२४, बिनोद कुँवर ०४१३४९०३५० र भावना लिम्बु ०४०४५०९५१० मा सम्पर्क गर्न सकिने प्रेस मिटमा जानकारी गराईएको थियो ।
के छ ‘गोर्खा बिनिथ द ब्रभरी ‘मा ?
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा चलचित्र निर्माण भएको हो । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्विन अलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए तर उनी बाँच्न सफल भए ।
घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।
नेपाली गोर्खा सैनिकहरुले आफ्नो विरता कसरी प्रर्दशन गर्दछन् र किन बहादुर मानिन्छन् भन्ने विषयलाई कथाले चित्रण गरेको छ । गोर्खाहरुको बहादुरीका विषयमा बनेको पहिलो जीवनी चलचित्र जर्मन नेपाली र अंग्रेजी भाषामा तयार पारिएको छ । जसको अधिकाशं छायाकंन ईग्ंल्याण्ड र बेलायतका विभिन्न सहरहरुमा गरिएको छ ।

चलचित्रमा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक शाही आफैँले लेखेका हुन् । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ रहेका छन् ।






