सिड्नी । सुदुरपश्चिम समाज अष्ट्रेलिया न्यू साउथ वेल्स राज्यले गौरा पर्व धुमधामका साथ मनाउने भएको छ । समाजले ३ सेप्टेम्बरमा न्यू साउथ वेल्स राज्य स्थित क्रोयडोन पार्कको कोरियन हलमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको छ ।
नेपालको सुदुरपश्चिम क्षेत्रमा रहेका नेपाली मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष लक्ष्मी जोशिले लण्डन नेपाल न्यूजलाई जानकारी दिए । उक्त कार्यक्रममा सुदुरपश्चिम क्षेत्रमा प्रख्यात देउडा नृत्य, हुड्खेली नृत्य, नेपाली मौलिक खानाका परिकार, बाल उद्यान तथा मुख्य आकर्षकको रुपमा गौरा नृत्य रहने उनले बताए ।
कार्यक्रममा नेपाली चर्चित राष्ट्रिय कलाकारले समेत आफ्नो सागींतिक प्रस्तुती दिनेछन् । सुदुर पश्चिमेली गायकहरु सन्ध्या जोशी,रवि ओड,अनिता चौलानी,चक्र बम लगायतका कलाकारहरु कार्यक्रममा उपस्थित हुने समाजले जनाएको छ ।
सुदुरपश्चिमको मौलिक कला संस्कृति प्रदर्शन गर्ने र अतिथिहरुलाई जानकारी गराउने उद्धेश्यले आयोजित कार्यक्रममा नेपाली र अन्य समुदायका प्रतिनिधि सहभागी हुने आयोजकको अपेक्षा छ ।
कार्यक्रममा गैरआवासीय नेपाली सघं एनआरएन अष्ट्रेलिया अध्यक्ष नन्दु गुरुङ,एनआरएन न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ लगायत उच्च पदस्थ अतिथिहरु सहित सुदुरपश्चिम तथा गैरसुदुरपश्चिम नेपालीहरु र त्यहाँका स्थानीय अन्य समुदायका व्यक्तिहरु समेत उपस्थित हुने समाजले जानकारी दिएको छ ।
अध्यक्ष जोशिले कार्यक्रममा सहभागी भई सुदुरपश्चिमेली संस्कृतिको मजा लिन र मौलिक संस्कृति सगैं मौलिक खानाका परिकारहरुसगैं रमाउन सम्पूणर्लाई आग्रह गरे । कार्यक्रमको टाईटल स्पोन्सरको रुपमा हिल्स किचन एण्ड बाथरुम (अनिल भट्ट) प्लेटिनम स्पोन्सरको रुपमा मेन्टर माइग्रेसन एण्ड भिसा सर्भिसेस (केशब जोशि), गोल्ड स्पोन्सरको रुपमा तिलिचो कन्सल्टिङ ग्रुप (प्रकाश पन्थी) र न्यू पोखरा ज्वेलरी (सपना र विजय खाती) रहेका छन् ।
सुदूरपश्चिम नेपाली समाज अस्ट्रेलिया न्यू साउथ वेल्स राज्यमा दर्ता भई सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको संस्था हो । समाजमा अष्ट्रेलियामा बसोबास गर्ने नेपालको सुदूरपश्चिम क्षेत्रका जनताहरु सदस्यको रुपमा रहेका छन् । विदेशी भूमिमा नेपाली कला संस्कृति जोगाउने तथा मौलिक संस्कृतिलाई अर्को पुस्तालाई हस्तान्तरण गर्ने समाजले प्रमुख उद्धेश्य राखेको छ ।
समाजले विभिन्न विपद तथा भैपरिहरुमा गृह जिल्ला र अष्ट्रेलियामै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेको छ । विभिन्न सांस्कृतिक कार्यक्रम एवम् च्यारिटीहरुको आयोजना गरेर सकंलित रकम परोपकारी क्षेत्रमा खर्च गर्दै आईरहेको छ ।






