अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र

सिड्नी । अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदुत कैलाशराज पोखरेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

क्यानबेराको गभर्नर हाउसमा सोमबार आयोजित विशेष समारोहमा अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्ले एसी डीएससी समक्ष पोखरेलले आहोदाको प्रमाणपत्र पेश गरेको नेपाली दुतावासले जनाएको छ ।

तत्पश्चात उनीहरुबीच शिष्टाचार भेटवार्ता समेत भएको छ । भेटमा गभर्नर जनरलले नवनियुक्त राजदुत पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र अष्ट्रेलियाबीच बढ्दै गएको मैत्रीपूर्ण सम्बन्धमा खुशी व्यक्त गरेका छन् ।

राजदुत पोखरेलले दुई देशबीचको विद्यमान मित्रताको बन्धन आपसी समझदारी, विश्वास र सहयोगमा आधारित रहेको बताएका थिए । उनले अस्ट्रेलिया र नेपालबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्रीका प्रतिनिधि, सचिव, प्रोटोकल प्रमुख तथा अष्ट्रेलिया सरकारका उच्च पदस्थ अधिकारी, राजदूतकी धर्मपत्नी बसुधा पोखरेल तथा नेपाली दूतावासका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १२ गते पोखरेललाई अष्ट्रेलियाका लागि राजदूतमा नियुक्त गरेकी थिईन् । पोखरेलले क्यानबेरास्थित राजदूतावासमा जुलाई २० मा पद बहाली ग्रहण गरेका थिए ।