तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदुत कैलाशराज पोखरेलले जुलाई २५ मा ओहोदाको प्रमाणपत्र पेश गर्ने भएका छन् ।
पोखरेलले अस्ट्रेलियाका गर्भनर समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १२ गते पोखरेललाई अष्ट्रेलियाका लागि राजदूतमा नियुक्त गरेकी थिईन् । पोखरेलले क्यानबेरास्थित राजदूतावासमा जुलाई २० मा पद बहाली ग्रहण गरेका थिए ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएका पोखरेलले एसिया प्रशान्त क्षेत्रका फिजी, पपुवा न्यूगिनि र न्युजिल्याण्डको राजदूतको भुमिका समेत निर्वाह गर्नेछन् । उनी यसअघि अमेरिकाका लागि नेपालको राजदूतावास वासिङ्टन डीसीमा पहिलो इकोनोमिक काउन्सिलर भएर काम गरेका थिए ।
राजदुत पोखरेलले लण्डन नेपाल न्यूसगं कुराकानी गर्दै वृहतर नेपाली समुदायसगैं रहेर उनीहरुका समस्याहरु समाधान गर्न र हक हीतका लागि काम गर्ने बताए । दुतावासबाट जारी हुने सुचनाहरुलाई सहज बनाउने प्रयासरत रहेको उनको भनाई छ ।
छोटो समयमा राजदुतावासले गर्नुपर्ने अष्ट्रेलिया र नेपालबीच सीधा हवाई यात्राको प्रक्रिया अगाडी बढाउने, नेपालमा अष्ट्रेलियन दुतावासको स्थापना गर्ने र नेपालीहरुले अष्ट्रेलियामा कामदार भिषामा पाउनुपर्ने माग लगायतका विषयहरु नेपालीको चासोका विषय रहेका छन् ।






