सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको नई पुरस्कार अन्तर्गत २०२५ का लागि आवेदन आह्वान गरेको छ । एकेडेमीले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रही सामाजिक योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान एवम् पुरस्कृत गर्दै आईरहेको छ । यसवर्ष “नई परिजात र युवा वर्ष पुरस्कार – २०२५” को घोषणा गर्दै एकेडेमीले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली र गैर–नेपाली प्रतिभाशाली ५ व्यक्तिहरूलाई सम्मान गर्ने जनाएको छ ।
जसमध्ये ३ जना नेपाली र २ जना गैर–नेपालीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको छ । जसमध्ये अस्ट्रेलियामा १२ देखि २० वर्ष उमेर समुहका खेलकुद, संगीत, साहित्य र कला क्षेत्रहरूमा क्रियाशिल रही विभिन्न उपलब्धीहरु हासिल गर्दै सामाजिक योगदान दिने व्यक्तिहरुलाई सम्मानित गरिने अध्यक्ष सीमा रोसीले जानकारी दिईन् ।उनीहरुलाई चार हजार पाँच सय डलर सहित सम्मान पत्रद्धारा सम्मानित गरिनेछ । यसवर्ष साहित्यमा योगदान पुर्याउने एक जना, पत्रकारिता क्षेत्रमा क्रियाशिल एक महिला पत्रकार र अन्य युवाहरुलाई प्रदान गरिने जनाईएको छ । साहित्य र संगीत क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्ति, तिनका अभिभावक र संरक्षकहरूलाई उम्मेदवारहरूको विस्तृत नामांकन र जीवनी सहित आवेदन दिन एकेडेमीले अनुरोध गरेको छ । यस वर्ष दुई गैर–नेपाली युवालाई पनि यस पुरस्कारद्धारा सम्मानित गरिने जनाईएको छ । नई एकेडेमी अस्ट्रेलियाले सुरुवात देखिनै विभिन्न क्षेत्रमा विशेष योगदान गरेका नेपाली–अस्ट्रेलियाली र अन्तर्राष्ट्रिय व्यक्तिहरूलाई सम्मान गर्दै आईरहेको छ । जसमा कला, साहित्य, संगीत, खेलकुद, स्वास्थ्य, मानसिक स्वास्थ्य, घरेलु हिंसा प्रतिवन्ध, विज्ञान, प्रविधि र सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गर्ने गरिएको छ ।
नेपाली वांगमयको श्रीवृद्धिका लागि नेपालमा स्थापित नई प्रकाशन अस्ट्रेलियामा नइ एकेडेमीको रुपमा सन् २०२२ डिसेम्बर १६ मा स्थापना भएको थियो । यसले अस्ट्रेलियन नेपाली समाज, साहित्य, कला र संस्कृति हितका लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । नेपाली भाषा,कला, संस्कृति तथा साहित्यको प्रवर्धन र संरक्षण गर्ने र बिकास गर्ने उद्धेश्य सहित स्थापित संस्थाले अस्ट्रेलियामा रहेका नेपाली वाङ्मय सेवीहरूको सेवा, सम्मान, हित, मर्यादा र नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तार गर्दै विभिन्न सम्मान समेत प्रदान गर्दै आईरहेको छ । एकेडेमीले कम्तिमा बर्षमा विबिध क्षेत्रका तिन जनालाइ पुरस्कार दिने, दुइ बर्षको अन्तरालमा सांस्कृतिक तथा बहुसास्कृतिक कार्यकर्म गर्ने लगायतका कार्यहरु गर्दै आईरहेको छ । 







