काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७४ माघ २४ गते बुधबार सम्पन्न भएको ‘राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आइतबार पेश गरे ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा आयोगको तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेश गरिएको हो । सो अवसरमा सम्माननीय राष्ट्रपति भण्डारीले निर्वाचन नै हुँदैन कि भन्ने अन्योल रहँदा रहँदै पनि तोकिएकै समयमा स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन निर्वाचन आयोग सफल भएकोमा सन्तोष प्रकट गरिन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम प्राप्त भएकाले अब संघीय संसद्का क्रियाकलाप अगाडि बढाउन पनि सहज भएको विचार गरिन् ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपतिबाट प्राप्त निर्देशन र सहयोगबाट निर्वाचन सम्पन्न गराउन आयोगलाई ठूलो बल पुगेको धारणा राखे । उनले प्रतिनिधि सभाको निर्वाचन परिणामसमेत आयोगले आगामी फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्ने गरी तयारी अगाडि बढाएको अवगत गराए ।






