लण्डन टु पेरिस’ छायांकनको लागि लण्डन उडे सामाग्री र गरिमा

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा सोमबार बेलायत प्रस्थान गरेका छन् ।

फिल्म ‘लण्डन टु पेरिस’ छायांकनको लागि उनीहरुसँगै कलाकारद्वय कबीर खड्का र निश्चल खड्का पनि लण्डन उडेका हुन् ।

आगामी सातादेखि बेलायतका तीन सहरमा छायांकन हुने फिल्मको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुनेछ ।

यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी गरिमाले आफू वर्कसपको बेला नर्भस भएपनि आत्मविश्वास जगाउन साम्राज्ञीले सघाएको बताइन् ।

भ्रमण प्रेमकथामा आधारित यो फिल्म बेलायतदेखि फ्रान्ससम्म नै छायांकन गर्ने तयारी छ । प्रदीप भारद्वाज लिखित यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कविर खड्का मुख्य भूमिका रहने फिल्म अमित बस्नेत, अजित कुमार थापा, परि राना, अंकित गौतम र सनिश खकुरेलको लगानीमा निर्माण हुन लागेको हो । फिल्मका अजित सिंह सह–निर्माता हुन् ।