लन्डन । बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’बाट विश्व किर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पुर्जा सम्मानित भएका छन् ।
सन् २०१८ जुनमा सम्मान सूचीमा परेका पूर्जालाई बुधबार बेलायती महारानीको जन्मदिनको अवसरमा वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको हो ।
पूर्जाले सन् २०१६ मा हिमाल आरोहणमा रहेका गोर्खाहरुलाई उद्वार गर्नुका साथै यसअघि सात महिनामा विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा उच्च हिम शिखर सफलतापूर्वक आरोहण गरी ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गर्न सफल भएका थिए ।
मगरसहित १० जना नेपाली आरोही समूहले ३८ वर्षपछि शिशिर ऋतु (विन्टर सिजन)मा गत माघ ३ गते (सन् २०२१ जनवरी १६ तारिख)मा पाकिस्तानस्थित केटू को सफलतापूर्वक आरोहण गरी नेपालको राष्ट्रिय झण्डा फहराउँदै उक्त हिमाल चढ्ने पहिलो व्यक्तिका रुपमा समेत विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए । उक्त हिमाल आरोहण गर्ने क्रममा हालसम्म ७ दर्जन बढीले ज्यान समेत गुमाइसकेका छन् ।
श्रीमती सूची, घरपरिवार, दाजु तथा साथीभाइको साथ सहयोगले आफू सफल भएको उनी बताउँछन्् । उनको नाममा पुस्तक र वृत्त चित्र समेत प्रकाशित छन् ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका आरोही पूर्जा मगरलाई सन् २०२१ का लागि सद्भावनादूत ‘गुडविल एम्बास्टर’ समेत घोषणा गरेको थियो ।






