पत्रकार महासंघ यूकेको विवाद अन्त्य गर्दै जुट्यो सहमति

लन्डन। नेपाल पत्रकार महासंघ यूकेभित्रको विवाद अन्त्य भएको छ। गत वर्ष सम्पन्न शाखाको पांचौं अधिवेशनपछि देखिंदै आएका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै सहमति निर्माण गरिएको छ। चार बुंदे सहमतिपत्रमा शाखाका अध्यक्ष ध्रुवराज अर्याल र असन्तुष्ट समूहका तर्फबाट विपिन निरौलाले हस्ताक्षर गरेका छन्।

शाखाको ध्रुवराज अर्याल नेतृत्वको कार्यसमितिलाई एकताबद्ध रुपमा सहयोग गर्ने, विपिन निरौला नेतृत्वका समितिका सबै गतिविधि बन्द गर्ने र निरौला शाखाको पूर्व अध्यक्षको मर्यादाक्रममा रहने सहमति भएको छ ।

सहमतिअनुसार शाखाको सल्लाहकारमा निवर्तमान महासचिव संजयभक्त कंडेल, निवर्तमान सचिव डा. जगन कार्की, एभरेष्ट गौतम, बिमला लिम्बू र कर्मा पहाडी शेर्पालाई मनोनयन गरिने छ र सदस्यता नभएकाहरुको हकमा शाखाले प्रकृया पूरा गरेर सदस्यता प्रदान गरिनेछ।

शाखामा नविन पोखरेल, चिरन शर्मा, नरेशखपांगी, विपिन निरौला, भगीरथ योगी, श्याम लुईटेल र विमला सेने रहेको एक संरक्षकमण्डल रहने व्यवस्था गरिनेछ । त्यस्तै, शाखामा नयाँ सदस्यता खुला गर्ने र निरौलाको सिफारीसमा कम्तिमा सकृय पत्रकारिता गरिरहेका ६ जनालाई शाखाको नियमअनुरुप सदस्यता दिइनेछ ।

कार्यसमितिमा ठाउँ खाली भएमा निरौलाको सिफारीशमा योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना सदस्यहरु थप्ने सहमति पनि गरिएको छ। शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्थाको विधान र प्रक्रियामै रहेर असन्तुष्टिहरुको सम्बोधन गर्ने गरी सहमति खोज्ने प्रयास गरिएको बताए।

सहमति निर्माणको लागि भूमिका निर्वाह गर्ने सबै पक्षप्रति धन्यवाद दिंदै अध्यक्ष अर्यालले शाखालाई थप एकताबद्ध र सहभागितामुलक बनाउँदै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। त्यस्तै, प्रस्तावित संरक्षक विपिन निरौलाले पनि शाखाको एकतालाई महत्व दिंदै सहमति गरिएको बताएका छन् । सबैबाट सहमतिको पूर्ण कार्यन्वयन हुने आशा व्यक्त गरेका छन्।