काठमाण्डौ । आउँदो ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनका लागि एक लाख ५० हजारभन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मएक लाख ५० हजार४ सय ७९ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
जसमध्ये देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि, २१ सय ३५ जनाले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका आयोगले जानकारी दिएको छ ।
यसैगरी गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले उम्मेदवारी दर्ता गर्दा उपाध्यक्ष पदमा २३ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षका लागि ३४ हजार ९ सय ४२ जनाले, महिला सदस्यका लागि २६ हजार ६१ जना, दलित महिला सदस्यका लागि २३ हजार ४ सय ५६ जना र खुला सदस्यका लागि ५४ हजार ६ सय ४० जनाले उम्मेदवारी दर्ता गराएका आयोगले जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै पदमा उम्मेदवारी दर्ता गराएका मध्ये ३८ प्रतिशत महिला रहेको बताए । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले आइतवार र सोमवार उम्मेदवारी दर्ताको लागि समय दिएको थियो ।






