लण्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले शिव मन्दिरको स्तर वृद्धि तथा अन्य व्यवस्थापकीय पक्षहरुलाई मजबुत र भरपर्दो बनाउन आयोजना गरेको च्यारिटी डिनर नाईट कार्यक्रम सम्पन्न भएको छ ।

२४ अप्रिल आईतबार एम्पायर हलमा सम्पन्न च्यारीटी डिनर कार्यक्रममा बेलायतमा रहेका श्रद्धालु नेपाली भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो । च्यारिटीबाट १५ हजार भन्दा माथि आर्थिक सकंलन भएको कोषाध्यक्ष निराज शर्माले लन्डन नेपाल न्युजलाइ जानकारी दिए । उक्त सकंलित रकम मन्दिर सञ्चालन र व्यवस्थापनमा खर्च गर्ने उनले बताए ।

कार्यक्रम उपस्थित महानुभावहरुले निकै उत्साह र खुसीका साथ आर्थिक दान गरेका थिए ।बेलायतमा बस्ने नेपालीहरुको आस्थाको धरोहरको रुपमा स्थापित मन्दिर भएकाले सम्पूर्ण नेपालीहरुलाई सहभागी भई आर्थिक सहयोग गरेको समितिले जनाएको छ । नेपाली समुदायले नै मन्दिर स्थापना गरेकाले यसको संरक्षण र स्तरोन्नती तथा अन्य पक्ष व्यवस्थापन गर्ने जिम्मेवारी पनि नेपाली समुदायकै भक्तजनहरुको रहेको मन्दिर व्यवस्थापन समितिका सेन्टर यूकेका संरक्षक रोहित गुरुङले बताए ।

मन्दिरका श्रद्धालु भक्तजन र विभिन्न दाताहरुको सहयोग एवम् पहलमा किनेर आफ्नै भवनमा सञ्चालित सो मन्दिरलाई प्रभावकारी संचालनका लागि आर्थिक सहयोग जुटाउन च्यारीटी डिनर नाईटको आयोजना गरिएको पुर्व डिएसपी एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । कोरोनाको संक्रमणका कारण विभिन्न स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै सञ्चालन हुँदै आएको शिव मन्दिरमा दुर्गा पुजा, शिवरात्री पुजा, होली लगायत विवाह र ब्रतबन्ध समेत हुदै आएको छ ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको कार्यसमिती,पेट्रोन र ट्रष्टी समेत र संरक्षक रोहित गुरुङ, संरक्षक एवं कार्यक्रम संयोजक पुरन गिरी, अध्यक्ष वाचस्पति रेग्मी,उपाध्यक्ष विक्रम भट्टराई, सचिव हरि भट्टराई, कोषाध्यक्ष निराज शर्मा लगायत कार्यसमिति र मन्दिर व्यवस्थापन समितिका ट्रष्टी,सदस्य एवम् अन्य पदाधिकारीहरुको सक्रियतामा सम्पन्न भएको थियो ।

बेलायतमा बसोबास गर्ने नेपालीहरुले सन् २००७ मा विभिन्न महायज्ञ सञ्चालन गरी ५ लाख रुपैयाँ आर्थिक सहयोग सकंलन गरेर मन्दिरको स्थापना अर्थात खरिद गरेका थिए । मन्दिरमा चतुर्मुखी शिवलिङ्ग समेतको मुर्तिहरु स्थापना गरी गत सन २०२१ को विजया दशमीको अवसरमा सुचारु गरिएको हो । मन्दिर नियमित संचालन गर्न अर्थ संकलनका लागि यो च्यारीटी डिनर नाईट आयोजना गरिएको उपाध्यक्ष विक्रम भट्टराईले बताए ।

कार्यक्रमको पहिलो भागमा पण्डित मधुसूदन सत्यालले शिव मन्त्रोच्चारण गरी कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एनआरएन अध्यक्ष कुल आचार्य र काउन्सिल लिडर डेभिड क्लिफोर्ड, एनआरएन प्याट्रन शेर सुनार,काउन्सिलर दवाई प्रवेश केसी,राजिव बेल्बासे,तमु धि अध्यक्ष हित काजी गुरुङ,तमु धि आमा समुहका अध्यक्ष मञ्जु गुरुङ,जिएरएनसी सयोंजक मन गुरुङ,थर्क सेन लगायत विभिन्न सामाजिक सघं संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।
कार्यक्रममा गायिका सपना राइले बलिउड गीत एवम् भजन गाएर तथा चर्चित लोक तथा दोहोरी कलाकारद्वय कृष्ण अखेली र तुलसा क्षेत्री उपस्थित भक्तजनहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै नचाएका थिए ।

कार्यक्रममा मन्दिरलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने र मन्दिरको बारेमा भिडियो निर्माण गरेर योगदान पुर्याएको भन्दै लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको नविन ज्वेलर्स,पेपर वर्क सोलुसन,नमस्ते ट्याक्सीका भीपी विक्रम भट्टराई,अध्यक्ष बाचस्पती रेग्मी लगायतले प्रायोजन गरेका थिए ।







