गुल्मी । झण्डै १० करोड लागतमा तीन जिल्लाको संगमस्थल रिडीको कालीगण्डकी नदीमाथि निर्माणाधीन तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेको छ ।
कुल ९ करोड ८८ लाख लागतमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको हो । एसिया महादेशको पहिलो नमुना तीनमुखे झोलुङ्गे पुल नमुनाको रुपमा २०७१ मंसिरदेखि बन्न सुरु गरेको निर्माणको जिम्मा पाएको नयाँ बाटो रुविना मना जेभी कम्पनीले जनाएको छ ।
‘निर्माणको काम सुरु गरेको साढे ७ वर्ष भइसकेको छ ।’ निर्माण व्यवसायी सुशान्त यादवले भने, “बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माण ढिला हुन गएको हो ।” अहिले भने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी यादवले बताए ।
तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चण्डीभञ्ज्याङ जोडेको छ । पुलको काम अन्तिम चरणमा पुगेपछि उक्त स्थानमा आन्तारिक पर्यटकहरुको चहलपहल भइरहेको स्थानीय बिष्णु परियारले बताएका छन् ।
तीन जिल्लामा जानको लागि कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाई भएको स्तम्भ निर्माण भएको छ । पुलमा २५ मिटर उचाईको भ्युटावर, बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ १ सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भइसकेको छ । अहिले पुलमा जाली, सोलार र भर्याङको काम भइरहेको निर्माण व्यवसायी यादवले जानकारी दिए ।
नेपालका ४ धाममध्ये एक रुरुधाममा नमुना झोलुङ्गे पुल बन्ने कामले सार्थकता पाउन थालेपछि स्थानीयहरु उत्साहित बनेका छन् । २०७९ बैशाखभित्र पुल निर्माणको काम सकिने निर्माण कम्पनीले जनाएको छ । पुलको शिलान्यास २०७१ म्ंसिर १५ गते संविधान सभा सदस्य डा.चन्द्र भण्डारी र तत्कालित मुख्य सचिव लिलामणी पौडेलले गरेका थिए ।
पुलको बीचमा कफी सप
आफुहरुको पहलमा बनेको एसियाको नमुना तीनमुखे पुलमा कफि सप बनाउने सोचमा रहेको संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले बताए । ‘दीर्घकालिन समयको लागि पर्यटक आर्कषक गरिरहने सोंचमा एसिया महादेशमा पहिलोपटक हामीले नमुना तिनमुखे पुल बनाएका छौं ।’ काँग्रेस नेता भण्डारीले भने, “नमुना पुललाई अझै नमुना बनाउने सोंचले इन्जिनियरको समूहसहित पुलमा हुने सम्भावित सम्भावानाहरुलाई खोजेका हौं ।” उनले पुल निर्माणमा आफ्नो मात्र नभएर तत्कालिन मुख्य सचिव लिलामणी पौडेलको पनि योगदान रहेको बताए ।
तीन जिल्ला जोड्न बनाइएको कालीगण्डकी नदीको बीचमा रहेको स्तम्भ ६ तलाको रहेको छ । ६ तलालाई चारै तिरबाट सिसा लगाएर सुन्दर घर बनाउन सकिने इन्जिनियरहरुको निष्कर्ष छ । सुन्दर घरभित्र कफि सप बनाउने योजना अगाडि बढाउने तयारीमा आफूहरु लागेको भण्डारीको भनाई छ । इन्जिनियर सहितको प्रारम्भिक अध्ययनमा कफि सप बनाउन सकिने र त्यसमा लिफ्ट समेत राख्न सकेमा नमुना तीनमुखे पुल अझै नमुना बनाउन सकिने भण्डारीले बताए । तीनमुखे पुलको इन्जिनियर्स एसोसिएसन अफ नेपालका अध्यक्ष हरि दर्लामी नेतृत्वको ९ जनाको समूहले पुलमा हुन सक्ने सम्भावानाहरुको अध्ययन तथा अनुगमन गरेका हुन् ।






