सत्ता गठबन्धनमा चुनावी तालमेलको सकस

काठमाण्डौ । सत्तारुढ दलहरूको निर्वाचन तयारी तथा गठबन्धन समितिले चुनावी तालमेलबारे २ दिन भित्र निणर्य लिइसक्न जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको बैठकमा चुनावी तालमेल गरेर २२ गते अर्थात मङ्गलवारसम्म वस्तुस्थिति मुल्याङ्कन गर्न भनेअनुसार काम भए नभएको समीक्षा पनि भएको छ ।

धेरैजसो जिल्लामा तालमेलबारेमा छलफल र निणर्य भएको भएपनि कतिपय जिल्लामा भने यसबारेमा निणर्य भइसकेको छैन । अब २ दिन अर्थात् शनिवारसम्म जिल्लाको स्थिति र कसरी जाने भनेर निणर्य गरेर साझा रुपमा पठाउन हिजोको बैठकले निर्देशन दिएको हो ।

गठबन्धनको चुनाव तयारी तथा अनुगमन गर्न गठित समितिको बैठक आउँदो आइतवार फेरि बस्ने छ । चुनाव आउन अब ३६ दिन मात्रै बाँकी रहँदा सत्ता गठबन्धनमा चुनावी तालमेलको चटारो देखिएको छ । तर महानगर तथा उपमहानगरमा भने कसले कति सङ्ख्या लिने भन्नेमा कुरो टुङ्ग्याउन चुनौतीपूणर् हुने देखिएको छ ।

सत्ता गठबन्धनका नेताहरू चुनावी तालमेलको लागि दौडधुपमा लागेको भएपनि नेकपा एमालेले भने एक्लै चुनावी मैदानमा होमिने बताउँदै आएको छ । ५ दलिय गठबन्धनका अघि एमाले एक्लै चुनामा गएर जित हासिल गर्ने दाबी अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका छन् । यद्यपी एमालेले राप्रपा तथा लोसपा सँग पनि चुनाबी तालमेल गर्ने प्रयास भने गरिरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन फेरि एक पटक लड्नुको विकल्प नभएको र त्यसका लागि आगामी निर्वाचन माओवादी केन्द्रले जित्नुपर्ने बताएका छन् । हिजो चितवनमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सोही तयारी र काम गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।