एजेन्सी । श्रीलङ्कामा अनिश्चितकालका लागि आपतकालको घोषणा गरिएको छ ।
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले मुलुकमा बढ्दो आर्थिक मन्दी र सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई ध्यानमा राखेर देशव्यापी आपतकालको घोषणा गरेका हुन् ।
उनले मुलुकको सुरक्षा र आवश्यक सेवाको आपूर्तिका लागि यो निणर्य गरिएको बताए । कोलम्बोमा बिहीबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय अगाडि राखिएको ब्यारिकेट नाघेर आगजनी गरेका थिए ।
समाचार संस्था रोयटर्सका अनुसार प्रदर्शनको क्रममा करिब २४ जना प्रहरी घाइते भएका छन् । त्यसपछि सहरमा सेना परिचालन गरिएको छ । अहिले सेनालाई शङ्कास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्यवृद्धि आकासिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षा नै स्थगित गरिएका छन् ।






