काठमाडौं -गैर आवासीय नेपाली संघमा लामो समयदेखि उत्पन्न विवादका बीच अन्तत: सहमति जुटेपछि संघको दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन भोलिदेखि हुने भएको छ । महाधिवेशन उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने तय भएको जनाइएको छ ।
संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महाधिवेशन र विश्व सम्मेलन अगाडि बढाइएको हो।मुद्धा फिर्ता नभएकाले आदेशअनुसार अब सहमतिको आधारमा एनआरएनएको निर्वाचन गर्न लागिएको हो।
संघका अध्यक्ष कुमार पन्तले शनिवार २६ मार्च देखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा सबैलाई सहभागि हुन र कार्यक्रमलाई सफल बनाउन आह्रवान गरेका छन् ।
होटल हिमालयमा दुई दिन सम्म चल्ले महाधिवेशनले विधान संसोधन गर्ने तयारी समेत गरेको छ । अध्यक्षका प्रत्यासीत्रय डा बद्री केसी, कुल आचार्य र रविना थापाबीच ‘एकता महाधिवेशन’ का रुपमा सम्पन्न गर्ने सहमति बनेको छ ।स्रोतका अनुसार उनीहरुबीच बहुअध्यक्ष बन्ने र अन्य पदहरु पनि थप गरी सहमतिमै नयाँ नेतृत्व चयन गर्ने सहमति बनेको छ।
यसैबीच एनआरएनएनमा डा. शेष घले पक्षधरले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । घले पक्षधरको काठमाडौंमा आयोजित छुट्टै भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।






