दश महिनामा चार लाखले श्रम स्वीकृति लिए

काठमाडौँ । २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिब चार लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागले २०७८ वैशाख देखि माघ मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो ।

‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा पुगेको छ,’ वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्ण प्रसाद भूसालले भने । भूसालका अनुसार पछिल्लो १० महिनामा कूल ३ लाख ९७ हजार ६१३ जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् ।

सो समयमा औषतमा प्रत्येक महिना ३९ हजार ७६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको संख्या बाँकी दुई महिनामा पनि बढे यो वर्ष करिव पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ । ‘०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख १० हजारभन्दा बढी छ,’ सूचना अधिकृत भूसालले भने ।

विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५ र माघमा ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन् ।

विश्वमा कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगार क्षेत्रमा असर गरेको थियो । महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्यामा ठूलो गिरावट आएको थियो ।