नेपाली युवा प्रताप बस्नेत : जो रसियाविरुद्ध युक्रेनको तर्फबाट युद्ध लड्दै छन्

काठमाण्डौ । युक्रेन र रसियाको युद्धले यतिवेला विश्वको ध्यान त्यसतर्फ मोडिरहेको छ । रसियाले युक्रेन विरुद्ध थालेको युद्धको साता भन्दा बढी हुँदा पनि रसियाले युक्रेनमाथि पूरै पकड जमाउन सकिरहेको छैन ।

कुनै बेला सोभियत संघ अन्तर्गतका यी दुई मुलुकबीच अमेरिका, युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई लिएर विवाद भएको थियो ।

उत्तरी युरोपको देश यहाँ पनि सयभन्दा धेरै नेपाली रहेका थिए । जसमध्ये धेरैजसोले रसियाको आक्रमणपछि युक्रेन छाडेर युरोपका अन्य मुलुक छिरेका छन् ।

तर बुधबार नेपालबाटै गएका एकजना युवकले रयिसा विरुद्ध युक्रेनको तर्फबाट युद्ध लड्ने घोषणा गरेको भिडियो सामाजिक सञ्जालमा आएको छ । युक्रेनबाटै सार्वजनिक भएको यो भिडिओमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका युवक त्यहाँ लडाइँका लागि तयार भएको बताइरहेका छन् ।

नेपालबाट आएको बताउने प्रताप बस्नेत नामका ती युवक आफू रसियाविरुद्ध लड्न तयार भएको भन्दै युक्रेनी सेनामा भर्ती हुन पुगेका छन् । अंग्रेजी भाषामा बोलिरहेका उनले युक्रेनको पक्षमा उभिँदा आफूलाई गर्व लागिरहेको बताएका छन् ।

‘युक्रेनको पक्षमा युद्ध लड्न पाउँदा मलाई गर्व लागेको छ । म युक्रेनको पक्षमा लड्न सेनामा भर्ना हुँदैछु’, उनले भनेका छन्, ‘आइएम फर्म नेपाल, म भर्ती हुन अहिले सेनाको क्याम्पमा आएको छु ।’ उनले युक्रेनको पक्षमा उभिँदै यो भूमि जोगाउन लड्ने बताएका छन् । ‘यो भूमि युक्रेनको हो, यहाँ रसियाले हस्तक्षेप गर्न पाउँदैन’, उनले भनेका छन्, ‘ अहिलेको तनावपूणर् अवस्थामा म रातभर सुत्न सकेको छैन ।’

उनले युक्रेनमाथि रसियाली आक्रमणलाई मानवीयता र मानवअधिकारको सवाल पनि भनेका छन् । उनले आफू अन्तिम श्वास रहेसम्म युक्रेनका लागि लड्ने पनि बताए । उनले आफूलाई युक्रेनले पालेको बताउँदै संकटमा साथ दिने पनि तर्क गरेका छन् ।

बुधबार सार्वजनिक भएको यो भिडिओबारेमा नेपालका अधिकारीहरुले पुष्टि गरेका छैनन् । युद्ध लड्न तयार भएका यी नेपाली युवालाई त्यहाँबाट उद्धार गरियो गरिएन या सेनामै भर्ना भइसकेको आधिकारिक पुष्टि भएको छैन ।

सामाजिक सञ्जालमा भाईरल उनको भिडियो हेर्नुहोस्