गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले राजदूत आचार्य सँग गर्र्यो भेट वार्ता: के भने राजदूतले ?

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भूतपूर्व बेलायती गोर्खाको समस्या समाधान आफ्नो प्राथमिकता रहेको बताएका छन्। गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै शुरु हुने भएको हो ।

मंगलबार बेलायतस्थित साउथ ह्यारोमा आयोजित गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले राजदूतको सम्मानमा गरेको एक कार्यक्रममा बोल्दै राजदूत आचार्यले यस्तो बताएका हुन् ।उनले त्रिपक्षीय वार्ता सफल बनाउन सबैको योगदान आवश्यक हुने पनि औंल्याए । गत बुधबार लन्डनस्थित नेपाली दूतावासमा पदबहाली गरेका आचार्यलाई नेपाल सरकारले वार्ताको नेतृत्व गर्न जिम्मेवारी सुम्पेको छ ।

‘हामी बेलायत सरकारसंग सम्पर्कमा छौं । वार्ता समितिलाई नेपालको मन्त्रिपरिषदबाट पारित गरेपछि त्रिपक्षीय वार्ता प्रक्रिया अगाडि बढ्छ’, राजदूत आचार्यले मंगलबार भने, ‘मिति ठ्याक्कै भन्न त अहिले अप्ठेरो छ । तर, अब गोर्खा समस्याको दीर्घकालिन समाधान आवश्यक भएकाले म त्यसतर्फ बढी क्रियाशील छु । वार्ताबाटै सबै समस्या निराकरण गर्न हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

कार्यक्रममा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले भूतपूर्व गोर्खाहरुको लडाईं कुनै धर्म, जातजाती, रंगभेदको नभइ समानता र नेपाल राष्ट्रको स्वाभिमानका लागि भएको प्रष्टयाए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले हजारौं गोर्खाहरु त्रिपक्षीय वार्ता मिति कुरेर बसेको जनाउंदै राईले नयां राजदूतबाट गोर्खा माग सकारात्मक ढंगले अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

सत्याग्रहका सचिव होम किरात सुनुवारले सञ्चालन गरेको उक्त कार्यक्रममा गोर्खा सत्याग्रहका यूके संयोजक टक गुरुङले स्वागत मन्तव्य दिएका थिए ।सो अवसरमा गोर्खा अभियन्ताहरु धनबहादुर गुरुङ,पुष्पा राणा घले,सोलिसिटर राजु थापा लगायत सत्याग्रहका पदाधिकारी तथा मिडियाकर्मीको सहभागिता थियो ।

राजदूत आचार्यलाई भूतपूर्व गोर्खाहरुले सम्मान गर्दै उनीबाट आफूहरुले धेरै आशा राखेको बताएका थिए ।