माटामा हात चोबल्न आग्रह

काठमाडौँ, १२ जेठ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सुकिलोमुकिलो संस्कृति त्यागेर माटामा हात चोबली नवनिर्माणमा जुट्न सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । भूकम्पबाट घर भत्किएर बिचल्लीमा परेका जनताका लागि अस्थायी आश्रयस्थल बनाउन काँग्रेसले सुरु गरेको अभियानमा सहभागी हुन धादिङ बेनीघाट–८ बाहुनटार पुगेर उहाँले विपत्तिमा एक भएर राष्ट्रिय सङ्कटलाई सामना गर्न श्रम शिविर एकताको प्रतीक साबित हुनेछ भन्नुभयो ।
आफ्नै स्रोत साधन, सीप, कलाको प्रयोग र उपभोग गरेर यथाशीघ्र बसोबासका लागि अस्थायी संरचना बनाउन आवश्यक रहेको बताउँदै उपसभापति पौडेलले सरकारले राहतस्वरुप उपलब्ध गराउन घोषणा गरेको जस्तापाता र रु १५ हजार छिटो उपलब्ध गराउन माग गर्नुभयो ।
अधिकांश दलित समुदायको बसोबास रहेको बाहुनटारमा स्थायी बसोबासका लागि टहरा निर्माणका लागि काँग्रेस मोरङबाट गुरु घिमिरेको नेतृत्वमा डिला सङ्ग्रौला, भीम पराजुलीसहित पार्टी र भ्रातृ सङ्गठनका ५१ जनाको टोली खटिएको छ । पंैसट्ठी घरधुरी रहेको बाहुनटारमा ६० घरमा भुइँचालाले क्षति पु-याएको थियो । टोलीले सात दिन त्यहाँँ बसेर काम गर्नेछ ।