लण्डन । बेलायतमा तीन दशक यताकै खतरनाक युनिस आँधीका कारण बेलायती नागरिकलाई घरमै बस्न सरकारले आग्रह गरेको छ । उक्त आँधी निकै खतरनाक र शक्तिशाली रहेकाले लाखौं मानिसहरूलाई घरमै बस्न भनिएको छ ।
लन्डनस्थित मौसम कार्यालयले दोस्र्रोपटक जारी गरेको चेतावनीअनुसार लन्डनको दक्षिणपूर्वी सामुन्द्रिक किनार, दक्षिण-पूर्वी र पूर्वी किनारका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिइएको हो । बेलायतको मौसम विभागले लण्डन, इङल्याण्ड र वेल्सका केही स्थानमा रेड अलर्ट जारी गरेको छ ।
उक्त आँधीको कारण आउन सक्ने ढुंगा र रुखका अवशेष तथा अन्य कारणले मानवीय जीवन जोखिममा पर्न सक्ने भन्दै रेड अलर्ट जारी गरिएको हो । वेल्सका सयौं विद्यालय र रेल सेवा पूणर्रुपमा रोक लगाइएको छ । वेल्समा १२ सयभन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ ।
यूनिस नामक उक्त आँधी शुक्रबार ९० किलोमिटर प्रतिघण्टाको बेगमा आउन सक्ने बताईएको छ । बीबीसीले वेल्समा तीन दशकयताकै सबैभन्दा खराब आँधी आएको जनाएको छ ।
यूनिस आँधी एकसाताभित्र बेलायतमा आएको अर्को शक्तिशाली आँधी हो । यसैसाता आएको अर्को आँधी ड्युड्लीले स्कटल्यान्ड, उत्तरी इङल्यान्ड र आयरल्यान्डमा क्षति पुर्याएको थियो ।






