काठमाडौं। नेपाली काँग्रेसले एमसीसी संसदमा छलफल गराएर पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । बिहिवार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन कायम नभए पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बिहीवारको बैठकमा एमसीसीबारे छलफल गराएका थिए ।
देउवाले एमसीसीबारे पार्टीमा छलफल नै नगराएको कांग्रेस नेताले आरोप लगाएपछि उनले कार्यसम्पादन समितिको बैठकमा छलफल गराएका हुन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले गठबन्धन नरहे पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष राखेको नेता शशांक कोइरालाले बताए ।
त्यस्तै नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले सभामुखले एमसीसी सदनमा प्रवेश गराउन रोक्न नमिल्ने बताए । एमसीसी पारित गर्नुपर्छ । सभामुखको काम नै सरकारले पठाएका विधेयकहरू सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो । एमसीसी पनि रोक्न पाउनुहुन्न, प्रवेश नै नगराएपछि के हो के हो भन्ने अन्योल बढ्यो । त्यसैले यसलाई अन्योलमा राख्नुहुन्न, संसद्मा छलफल गराउनुपर्छ ।






