भूकम्प गएपछि बारीको पाटोमा र खुला चौरमा जीवन बिताउन बाध्य उत्तरी गोरखाका बासिन्दा पहिरोका कारण पुन बिचल्लीमा परेका छन्।अन्नपूर्ण पोस्टमा खबर छ।
वर्षाले गर्दा त्रिपालको बाससमेत उनीहरूका लागि यतिबेला सकस हुन थालेको छ। भूकम्पले घरवारविहीन बनेपछि प्लास्टिक र त्रिपालको भरमा बसेका खोप्लाङ, थोप्राक, गाँखु, श्रीनाथकोट, जौबारी, मुच्चोक, सिम्जुङ, घ्याल्चोक, बारपाक, लाप्राक, गुम्दा, कासीगाउँ, केरौजा, लापु, उहियालगायतका गाविसका बासिन्दा पछिल्ला तीन दिनदेखि पर्न थालेको पानीले निम्त्याएको पहिरोका कारण बिचल्लीमा परेकाछन्।
पानी पर्न थालेपछि भूकम्पले चिराचिरा बनाएको पहाडबाट पहिरो झर्न थालेकाले ती गाविसलाई जोड्ने एकमात्र कच्चीसडक पटकपटक अवरुद्ध बन्न थालेको छ। सडकमा ठूलाठूला ढुंगा खस्न र पहिरो जान थालेपछि उद्धार, राहत र पुनस् निर्माणका लागि विभिन्न संघसंस्थाले दिएका सामग्री ढुवानीमा समस्या परेको छ। माथिबाट कतिखेर पहिरो खस्छ भन्ने डरका कारण स्थानीय बाटोमा हिँडडुल गर्नसमेत छाडेका छन्।






