लण्डन । बेलायतमा राष्ट्रवादी नेपाली संगठनले श्री ५ पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता भब्य रुपले मनाउने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण भौतिक रूपमा जम्मा भएर गर्न सम्भव नभएका कारण पृथ्वी जयन्ती कार्यक्रम भर्चुअल गर्न लागिएको संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले लण्डन नेपाल न्युजलाई जानकारी दिए ।विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारीको कारण कार्यक्रम प्रभावित भएको हो ।
पृथ्वी जयन्ती कार्यक्रममा नेपालबाट प्रतिष्ठित, बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरु सहभागि हुने भएका छन् ।संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले यसपटकको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डाक्टर जंगमान गुरुङ, लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक समेत रहेका नेपालको कम्युनिष्ट आन्दोलनको विषयमा विद्यावारिधि गरेका राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी र नागरिक समूह नेपालका अध्यक्ष निगम हुमगाइ सहभागि हुने जानकारी दिए ।
वितगका बर्षहरुमा जस्तोगरी भौतिक रुपमै भव्य बनाउन नसकिएपनि उच्चस्तरीय व्यक्तिहरुको सहभागितामा यस बर्षको अनलाइन सेलिव्रसन पनि विशेष बनाउने प्रयास भइरहेको उनले बताए ।
आगामी जनवरी ११ अर्थात पुस २७ गते बेलायतको समय विहान ११:४५ बजे तथा नेपाली समय बेलुका ५: २५ बजे गरिने उक्त कार्यक्रमको लण्डन नेपाल न्यूजको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत गरिने छ ।






