काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा हुने एउटा व्यावसायिक सम्मेलनमा सहभागी हुन देउवा जाने भएका हुन्।
आगामी जनवरी १० देखि १२ तारिखसम्म हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवालाई निम्तो आएको हो।
उक्त सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जनवरी १० तारिखका दिन गुजरातको गान्धीनगरमा उद्घाटन गर्ने कार्यक्रम छ।
गुजरात भारतीय प्रधानमन्त्री मोदीको गृहप्रदेश समेत हो। मोदी गुजरातको मुख्यमन्त्री भएका बेलादेखि नै उक्त सम्मेलन आयोजना गर्न थालिएको थियो।
प्रधानमन्त्री देउवा निकट एक नेताले भने, ‘भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन प्रधानमन्त्रीज्यूलाई निम्तो आएको छ। परराष्ट्रमन्त्रीलाई पनि निम्तो आएको छ।’
उक्त समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा सकारात्मक रहेका पनि ती नेताले जानकारी दिए।
यद्यपि भारतमा ओमिक्रोम भेरियन्टका कारण भाइब्रेन्ट गुजरात सम्मेलन प्रभावित बन्न सक्ने आँकलन भारतमा गरिएको छ । द्वीपक्षीय भ्रमण नभएकाले यदि सम्मेलन स्थगित भयो भने देउवाको भ्रमण पनि रद्द हुनेछ ।






