सिड्नी । नेपालको गुल्मी जिल्ला घर भएर अष्ट्रेलियामा बसीरहेका गुल्मेलीहरुको संस्था ‘गुल्मी समाज अस्ट्रेलिया’को अध्यक्षमा कमला बस्नेत चयन भएकी छन् ।
१९ डिसेम्बर १९ तारिख आइतवारका दिन सिड्नीको टेम्पे पार्कमा सम्पन्न भएको अधिवेशनले बस्नेतको अध्यक्षतामा २०२१ – २३ का लागि सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गरेको हो ।
अष्ट्रेलियामा रहेका नेपाली संघसंस्थाहरुमा महिला नेतृत्वमा पुग्ने गरेको घटनाहरु कमै देखिरहेको अवस्थामा कमलाले उक्त अवसर पाएकी हुन् ।
जसको उपाध्यक्षहरुमा चतुर्भुज खरेल र रमेश मरासिनी, सचिबमा युबराज भण्डारी ,कोषाध्यक्षमा बसन्त खरेल ,सदस्यहरुमा बिष्णु घिमिरे, कृष्ण खरेल, सिर्जना ज्ञवाली, कमल जिसी, अन्जु घिमिरे, प्रेम सापकोटा र प्रकाश खरेल रहेका छन् । सहसचिव पदमा कार्यसमितीको वैठकबाट पछि मनोनयन गरिने भएको छ ।
नयाँ कार्यसमिति चयन गर्नको निम्ती भिम खरेलको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । उनले नवनिर्वाचित कार्यसमितिलाई शपथ खुवाएका थिए ।
उक्त अवसरमा संस्थाका निवर्तमान अध्यक्षत श्याम केसीले आफ्नो कार्यकालमा साथ दिने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाप्रति कटिबद्ध रहेर सहयोग गर्ने वचनवद्धता जनाएका थिए । त्यस्तै नवगठित समितिका अध्यक्ष कमला बस्नेतले संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने भन्दै आगामी दिनमा संस्थाको गरिमा बढाउने गरी नयाँ योजनाहरु सार्वजनिक गर्ने जानकारी दिइन् ।
गुल्मी समाज अष्ट्रेलियाले गुल्मी र गुल्मीबासी मात्र नभएर समग्र नेपाल र नेपालीहरुको कल्याणको निम्ती मानवीय तथा सामाजिक कामहरु गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष बस्नेतले आफूले नयाँ जिम्मेवारी पाउँदै गर्दा यो एक चुनौतिपूर्ण रहेको भन्दै संस्थाले निर्दिष्ट गरेका उद्देश्यहरु पूर्ति गर्न अघि बढ्ने बताइन् ।घरपरिवार, काम, जिम्मेवारी आदिमा रहेर पनि समाजसेवामा समय निकाल्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भनिन्,’पुरुष मान्छेहरुको कुरा मात्र गर्नु भन्दा, महिला मान्छेहरुले नै अधिकार खोज्नुपर्छ ।’संस्थामा आवद्ध भइसकेपछि धेरै जिम्मेवारी हुन्छन्’, उनले भनिन्, ‘आशा छ, म काम गर्न आएको छु, सबै टिमले साथ दिनुहुनेछ ।’
उनले अब केही दिनमा संस्थाको बैठक बसेर नयाँ कार्यनीति तय गरिने समेत बताइन् । उनले नेपालमा विभिन्न आवश्यकताबाट गुज्रिरहेका र अवसरबाट बञ्चित भएका मानिसहरुको लागि एक असल सहयोगीको रुपमा संस्थालाई उभ्याउने समेत बताइन् । १८ बर्षअघि गुल्मीबाट अष्ट्रेलिया आएकी उनले यहाँ सीपमूलक व्यवसायमा संलग्न छिन् ।






