ग्रिसमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका ४ नेपालीको पहिचान खुल्यो

काठमाडौं । ग्रिसमा मंसिर पहिलो साता भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका चार नेपालीको सनाखत भएको छ ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटाको निधन भएको हो ।

सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।

ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्यको उपचार भइरहेको छ ।

फाइल तस्वीर