लण्डन । ग्रेटर लिभरपूल नेपाली समाज यूकेले सोमबार लिभरपूल शहरको मनमोहक प्राङ्गणमा हर्षबढाइँका साथ दशैं विशष कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको संस्कार र संस्कृतिको जगेर्ना गर्नमा महत्वपूर्ण भूमिका राख्ने उद्धेश्यसहित समाजले यूकेभरी छरिएर बसेका सबै नेपालीहरु प्रति दशैंको शुभकामना व्यक्त गरेको छ ।
सो अवसरमा समाजका अध्यक्ष भोजन शेरचन, उपाध्यक्ष कविराज शर्मा लगायतले उपस्थित पाहुना र लिभरपुलबासी नेपाली परिवार सबैलाई ससम्मान स्वागत सम्बोधन गरेका थिए। कार्यक्रमको सुरुवात गर्दै समाजका निमित्त महासचिव कृष्णा गुरुङले दशैं पर्व तथा नवदुर्गा भवानीको नौ वटा रुपका बारेमा प्रकाश पार्दै दशैं पर्व नेपालीका लागि अत्यन्तै महान अनि ठुलो पर्व भएको अवगत गराईन । समाजका अध्यक्ष र उपाध्यक्षले दशैं दीप प्रज्वलन गरे । दुर्गा सप्तशदीको भजन तथा नौ वटा कन्याहरुको प्रस्तुत रोहवरमा सुरु गरिएको यस दशैं खुशियाली कार्यक्रममा लिभरपुल शहरका सबै नेपालीहरुको सहभागितामूलक उपस्थिती रहेको थियो ।
सबै नेपाली तथा अन्य भाषिकाको उपस्थिति रहेको यस दशैं कार्यक्रमले नेपालीहरुको मन तन एकै क्षणका लागि भएपनि नेपालतिर आफ्नै घर दैलोमा पुर्याएजस्तो अनुभव भएको समाजका अध्यक्ष भोजन शेरचनले बताए । कार्यक्रममा नेपाली सांस्कृतिक समाज यूकेका अध्यक्ष गोपाल अधिकारी र उपाध्यक्ष नेत्र खरेलले पनि शुभकामना मन्तव्य दिएका थिए । विभिन्न नेपाली बाल र युगल नृत्य रहेको कार्यक्रममा स्थानीय संगीतकार तथा गीतकारहरुको पनि ठूलो सहभागिता रहेको थियो।
सो अवसरमा कविराज शर्मा र राजेश आचार्यले तयार गरेको दशैं परिकार मुख्य आकर्षण बन्यो । त्यस्तै नेपालीहरुले मनपार्ने नेपाली खीरको पनि अलगै व्यवस्था गरिएको थियो। कार्यक्रम समापन गर्दै समाजका सदस्य राजेन्द्र त्रिपाठीले उपस्थित सबै पाहुनाहरुलाई धन्यबाद प्रदान गर्दै फेरि अर्को सालको दशैंमा भेट्ने प्रण गरे ।
संस्थाले बेलायतको लिभरपुल शहरमा रहेर नेपाल र नेपालीहरुको कल्याणको निम्ती विभिन्न रचनात्मक कामहरु गर्दै आएको छ । 




ग्रेटर लिभरपूल नेपाली समाज यूकेले हर्षोल्लासका साथ मनायो दशैंविशेष कार्यक्रम






